 
                     
                                
                             
                                    – अर्जुन तिमिल्सिना
काठमाण्डौ । दुई साता बढी समयदेखि धितोपत्र दोस्रो बजारमा विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा हुने अनिश्चित बनेको छ।
लामो समयदेखि कम्पनीको वार्षिकलगायत वित्तीय प्रतिवेदन पेस नगरेको भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा यी २ कम्पनीको सेयर कारोबार एकैदिन गत माघ १८ गतेको निर्णयबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोक्का राखेको छ। आज फागुन ४ गते भइसक्दा यी २ कम्पनीको सेयर कारोबार फुकुवा हुन सकेको छैन।
त्यसो नेप्सेले यी २ कम्पनीबाहेक अन्य ११ कम्पनीको वार्षिक वित्तीय विवरण पेस नगरेकै कारण करिब १ साताअघि सेयर कारोबार रोक्का गरेको थियो । तर केही दिनभित्रै ती सबै कम्पनीले वार्षिक वित्तीय विवरण पेस गरेपछि अहिले कारोबार खुलिसकेको छ।
बजारमा उच्च मूल्य भएका तथा धेरै लगानीकर्ताको नजरमा रहेका विशाल बजार र राष्ट्रिय बीमा कम्पनीको भने सेयर कारोबार फुकुवा नहुँदा लगानीकर्ता निराश र अलमलमा परेका छन्। वास्तवमा यी दुवै कम्पनी लगानीकर्ताप्रति उत्तरदायी नदेखिएको र लगानीकर्ताहरुलाई गुमराहमा राखेको बजार जानकारहरु बताउँछन्। वर्षौंसम्म साधरणसभा नगर्ने अनि वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरण पनि पेस नगर्ने यी दुवै कम्पनीमाथि कारबाही जायज रहेको उनीहरुको ठहर छ।
विशाल बजार कम्पनीका लेखा अधिकृत शिवराज थपलियाले वित्तीय प्रतिवेदनहरु तयार भइनसकेका कारण नेप्सेमा पठाउन नसकिने बताए। ‘छिटै प्रतिवेदनहरु पठाउने प्रतिज्ञापत्र नेप्सेमा पठाएका छौँ’, उनले बिजशालासँग भने, ‘नेप्से पनि सकारात्मक छ, कारोबार खोल्ने विषयमा छलफल भइरहेको छ।’
अबको ५ महिनाभित्र सबै अडिट रिपोर्ट तयार हुने पनि थपलियाले जानकारी दिए। ‘हामी धमाधम त्यसैमा काम गरिरहेका छौँ’, उनले भने।
उता राष्ट्रिय बीमा कम्पनीको अवस्था पनि कम दर्दनाक छैन। यो कम्पनीले पनि विगत लामो समयदेखि कुनै वित्तीय विवरणसँगै वार्षिक साधारणसभा नगर्दा लगानीकर्ताले प्रतिफल पाउन सकेका छैनन्।
राष्ट्रिय बीमा कम्पनीका एक आधिकारीले आवश्यक कागजपत्र नेप्सेमा पठाइसकेको दाबी गरे। ‘अनअडिटेट प्रतिवेदन त हामीले प्रकाशन गरेका छौँ’, ती अधिकारीले भने, ‘२०७५/७६ को वित्तीय प्रतिवेदन एनएफआरएसअनुसार बनाउनुपर्ने भएकोले ढिला भएको हो।’
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नियम–कानुनअनुसार संस्थागत सुशासन कायम नगर्ने कम्पनीमाथि कारबाही थालिएको बताए। ‘हामीले मागेको कागजपत्र नपुगेसम्म ती दुवै कम्पनीको कारोबार अनिश्चितकालसम्म पनि रोकिन सक्छ’, उनले भने, ‘अब ती कम्पनी नै लगानीकर्ताहरुप्रति जबाफदेही बन्नुपर्छ।’
नेप्सेमा सूचीकृत राष्ट्रिय बीमा कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १६ हजार ६७० रुपैयाँ र विशाल बजार कम्पनीको २ हजार ८८० रुपैयाँ रहेको छ। लगानीकर्ता पीबी पोख्रेलले भने, ‘लगानीकर्ताको अर्बौं रुपैयाँ बन्धक हुनु नियामक निकायहरु र कम्पनीहरु सबै गैरजिम्मेवारी देखिए।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19