– रेखा चन्द

काठमाण्डौ । सेयर बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले राष्ट्र बैंककै कारण पुँजीबजार अस्थिर बनेको आरोप लगाएका छन्।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा छलफल गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा पौडेलले पुँजीबजारलाई अस्थिर बनाउने नै राष्ट्र बैंक रहेको बताएका हुन्। ‘पुँजीबजारको सबैभन्दा बढी नियमन राष्ट्र बैंकले गरेको छ’, उनले भने, ‘तर, नियमन गर्ने बहानामा राष्ट्र बैंकले नै पुँजीबजारलाई आफ्नो बाटोमा हिँड्न दिइरहेको छैन।’

बजार र व्यक्तिलाई हेरेर हचुवाका भरमा राष्ट्र बैंकले नीतिहरु ल्याउँदा पुँजीबजार धरासायी बनेको पौडेलको भनाइ छ। ‘पुँजीबजारको सुन्दरता भनेकै कहिले बढ्ने र कहिले घट्ने हो’, उनले भने, ‘तर, अस्वाभाविक घटाइको पछाडि गलत नीति नै मुख्य कारण रहेको देखिन्छ।’

पौडेलले उद्यमशीलता विकास गर्ने एउटा थलोका रुपमा पुँजीबजारलाई विकास गर्नुपर्ने बताए। ‘तर, नियामकले जुन किसिमले पुँजीबजारलाई हेर्नुपर्ने हो, त्यसरी आजसम्म हेरेको छैन’, उनले भने। 

पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)मा राजनीतिक नियुक्तिप्रति पौडेलले तीव्र असन्तुष्टि पोखे। ‘सेबोनबाट हामी लगानीकर्ताले कति अपेक्षा गर्ने ?’, उनले प्रश्न गरे, ‘पुँजीबजारलाई पेसायोग्य क्षेत्र बनाउन सेबोनले पहल गरोस्।’

पछिल्लो मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ल्याएको ४–१२ को क्यापले लगानीकर्ताहरु मर्कामा परेको पौडेलको भनाइ थियो। ‘विशेषगरी साना लगानीकर्तालाई राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिले डुबाएको छ’, उनले भने, ‘विभिन्न नीतिगत त्रुटिले पुँजीबजार प्रभावित भएको छ, राष्ट्र बैंकले सुधार गर्न आवश्यक छ।’

पौडेलले विगत र अहिले तरलता संकटबीच धेरै फरक रहेको प्रतिक्रिया दिए। ‘विगतमा पनि तरलताको समस्या आउँदा पनि बैंकहरुले लगानीकर्ताहरुलाई तानीतानी दिएका होइनन् र ?’, प्रश्न गर्दै उनले भने, ‘तर, अहिले अलि फरक अवस्था छ।’

आगामी दिनमा नेपाल कम्बोडिया वा भियतनाम पथमा लम्किरहेको भनिदिए हुने पनि पौडेलले बताए। ‘हामी त्यो बाटोमा जाने हो तर श्रीलंकाको पथमा होइन’, उनले भने। 

रेमिट्यान्स भित्रिने क्रम बढिरहेको उल्लेख गर्दै पौडेलले लिक्विडिटी र ब्यालेन्स अफ पेमेन्टमा सुधार भइरहेको बताए। ‘त्यसैले आउने दिनमा हामी डराउनुपर्ने अवस्था नै छैन’, उनले भने, ‘तर, आयात कन्ट्रोल गर्नुपर्छ।’

‘ब्याजदर बढाएर मान्छेले खाँदैन भनेर हुन्छ र ?’, प्रश्न गर्दै पौडेलले भने, ‘मैले उज्यालो देखेको छु, त्यसैले हाम्रो व्यवहार चेन्ज गरौँ।’