काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ल्याएको लघुवित्त संस्थासम्बन्धी एकीकृत निर्देशन र सरकार परिवर्तनको खबरले बिहीबार सेयर बजारमा भारी गिरावट आएको छ।

बजार आज ५७.७४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२२.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.९५ अंकले घटेर ३८४.४० को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी राष्ट्र बैंकले हिजो ल्याएको लघुवित्तसम्बन्धी एकीकृत निर्देशनले बजारमा गिरावट आएको बताउँछिन्। ‘आज सबैजसो लघुवित्त संस्थाको सेयरमा बिक्रीचाप परेको देखिन्छ’, उनले भनिन्, ‘त्यसले समग्र बजार घटेको हो।’

राष्ट्रपति चयनलाई लिएर सरकार फेरबदल हुन सक्ने खबरले पनि लगानीकर्ता डराएका कारण बजार घटेको तिवारी बताउँछिन्। ‘राष्ट्र बैंकले जहिल्यै पनि समस्या आउनुभन्दा पहिले नै नीति–नियम नबनाउने र समस्या आएपछि मात्रै कठोर नीति ल्याउने परिपाटीले समग्र सेयर बजार प्रभावित हुँदै आएको छ’, उनले भनिन्। 

बजार जानकार सरोज भट्टराई पनि बजार घट्नुको मुख्य कारण राष्ट्र बैंकले जारी गरेको लघुवित्त संस्थासम्बन्धी एकीकृत निर्देशन नै रहेको बताउँछन्। ‘राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा कडाइ गर्दा विगतमा जस्तै लाभांश पाउने आशा बसेका लगानीकर्ताहरुले त्यो नदेखेपछि बिक्रीचाप बढाउँदा बजार नकारात्मक बनेको हो’, उनले भने।

आज अधिकांश लघुवित्त संस्थाहरुको सेयरभाउमा नेगेटिभ सर्किट लागेकोले पनि अन्य क्षेत्रलाई पनि यसले घटाउन मद्दत पुर्याउँदा समग्र बजार घटेको भट्टराईको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक ९.५४ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ३.१५ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.७८ प्रतिशत, विकास बैंक समूहमा १.४४ प्रतिशत, वित्त समूहमा २.४६ प्रतिशत, जलविद्युत समूहमा २.२२ प्रतिशत, लगानी समूहमा १.७० प्रतिशत, जीवन बीमा समूहमा २.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२४ प्रतिशत, अन्य समूहमा २.०४ प्रतिशत र व्यापार समूहमा २.०३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ६३ लाख २६ हजार १०५ कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन छिमेक लघुवित्तको सर्वाधिक ८ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ७ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ७ करोड २१ लाख रुपैयाँ, साना किसान विकास लघुवित्तको ६ करोड ६ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६ करोड रुपैयाँ, जीवन विकास लघुवित्तको ५ करोड ८१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८२ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४ करोड २४ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको ४ करोड २१ लाख रुपैयाँ र आरएमडीसी लघुवित्तको ३ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन ४४ वटा लघुवित्तको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। जसमा ३७ वटाको सेयरभाउमा १० प्रतिशत र ७ वटाको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। आज स्वाभिमान लघुवित्तबाहेक सबै कम्पनीको सेयरभाउमा ओरालो लागेको छ।