काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताएका छन्। 

प्रि–बजेट छलफलका क्रममा मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने जानकारी गराएका हुन्। उनले अर्थतन्त्र चलायमान बनाउन आगामी आर्थिक वर्षको सुरुआतदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने पनि बताए। 

अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने पनि अर्थमन्त्री  महतले बताए । ‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिनँ, लामो प्रोसेस हुन्छ’, उनले भने। 

अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि बताए। ‘सकेसम्म यो सिस्टमलाई यही आर्थिक वर्षभित्र सुधारेर नयाँ मार्गमा जान सक्दछौँ’, उनले भने, ‘हामी सबैको सहयोग र एकाग्रताबाट त्यो सम्भव हुन्छ।’

मन्त्री महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने बताए। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने पनि बताए। ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन् तर हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’, उनले भने।