काठमाण्डौ । राहदानी विभागले अनिश्चितकालसम्मका लागि राहदानी छपाइ तथा वितरण रोकेको छ।

गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो। विभागले आज सूचना निकालेर पुस १७ गतेदेखि नै विभागको सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरुद्ध भएको जनाएको छ। ‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूर्ण रुपमा सुचारु हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरुले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ’, सूचनामा भनिएको छ।

विभागकी निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाद्वारा जारी सूचनामा नियमित रुपमा राहदानी आवेदनका लागि बुक गरेकाहरुले बुक गरेको मिति र समयमा बायोमेट्रिकका लागि पनि विभागमा आइदिन आग्रह गरिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मात्र सचिवहरुलाई निर्देशन दिँदै राहदानीलगायतमा सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता एक महिनाभित्र हल गर्न निर्देशन दिएका थिए। त्यसो नभएको खण्डमा जिम्मेवार पदाधिकारीमाथि कारबाही हुने उनले चेतावनी दिएका थिए। 

गृह मन्त्रालयले पनि राहदानी लिन सेवाग्राहीको भीडभाड बढेपछि समस्या बुझ्न र समाधान गर्न ४ सदस्यीय विज्ञ टोली अनौपचारिक रुपमा खटाएको थियो।