– प्रकाश न्यौपाने

काठमाण्डौ । केही दिनयता काठमाण्डौको त्रिपुश्वेरस्थित राहदानी विभागमा सेवाग्राहीको भीडभाड निकै कम हुँदै गएको छ। राहदानी वितरण प्रक्रिया पनि सहज बनेको छ। 

नयाँ सरकार गठन हुनुअघिसम्म पनि राहदानी वितरण प्रक्रिया निकै अव्यवस्थित थियो। राहदानी वितरण प्रक्रिया सहज बनाउन सरकारले नै विभागलाई निर्देशन दिएको थियो। 

सरकारको निर्देशनपछि हाल विभागबाट राहदानी वितरण प्रक्रिया निकै सहज बनेको छ। सेवाग्राहीको भीड पनि देखिन छाडेको छ। 

विभागका महानिर्देशक  सुरेन्द्रकुमार यादव सिस्टमेटिक ढंगले अगाडि बढ्दा राहदानी वितरण प्रक्रिया व्यवस्थित बनेको बताउँछन्। ‘पहिलेभन्दा अहिले धेरै सहज हुँदै गएको छ’, उनले भने, ‘घरमै बसेर कम्प्युटर वा मोबाइलबाटै राहदानी लिन फाराम भर्न सकिन्छ।’

फाराम भरेपछि त्यहीँ आफ्नो पालो परेको मिति आउने यादवले बताए। ‘आफ्नो मितिमा विभाग आएर राहदानीका लागि आवश्यक प्रक्रियाहरु पूरा गर्न सकिन्छ’, उनले भने, ‘सबै प्रक्रिया पूरा भएको २–३ दिनभित्रै राहदानी सेवाग्राहीले पाउँछन्।’

अहिले चौबीसै घन्टा अनलाइनबाट फारम भर्ने व्यवस्था गरिएकोले पनि केही सहज भएको यादवको भनाइ छ। ‘अहिले दैनिक २ हजार वटा राहदानीका लागि आवेदन खुला गरिँदै आएको छ’, उनले भने। 

देशका सबै जिल्ला प्रशासन कार्यालयबाट राहदानी वितरण हुन थालेकोले पनि अहिले केही सहज भएको यादव बताउँछन्। ‘प्राविधिक समस्या नआएको खण्डमा राहदानी वितरण कार्य यसरी नै सहज ढंगले अगाडि बढ्छ’, उनले भने।