काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने विरुद्ध मुद्दा दायर गरेको छ ।

सेयरको भित्री कारोबार (इनसाईडर ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले उनीविरुद्ध विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीमाथि विभिन्न  भित्री सूचनाका आधारमा कम्पनीको सेयर खरिदबिक्री गरी गैरकानूनी लाभ लिएको आरोप छ । विभागले उनीमाथि १ करोड ९९ लाख रुपैयाँ विगो माग दावी पनि गरेको छ ।

विभागले गत कात्तिक २३ गते उनी  विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको बुझिएको छ।उनी २०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत थिए ।

त्यस्तै, विभागले न्यौपानेलाई इनसाईडर ट्रेडिङ गर्न सहजीकरण गरेको अभियोगमा रिडी पावरका सीईओ कुवेरमणी नेपाल विरुद्द पनि मुद्दा दायर गरेको छ। 

उनी अध्यक्ष  रहकै बेला २०७८ जेठ ४ गते रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको सेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

उनी विरुद्ध नेपाल धितोपत्र बोर्डले पनि भित्री कारोबारबिना खरिदबिक्रीको कामलाई संयोगमात्रै भन्न नसकिने निष्कर्ष निकालेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सेयरबजारमा भित्री कारोबारका विषयमा रकम जफत हुनुपर्ने माग राखेर मुद्दा चलाउन लागेको यो पहिलो घटना हो ।

कुनै पब्लिक कम्पनीको सञ्चालक समितिमा रहँदा वा समिति छाडेको एक वर्षभित्र आफू वा परिवारको सदस्यले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने कानूनी व्यवस्था  छ ।

अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै धितोपत्र बोर्डले कारबाही गरेपछि उनले गत फागन ८ गते रिडी पावरको अध्यक्षबाट राजीनामा दिएका थिए ।अनुसन्धानबाट भित्री कारोबार भएको भेटिएपछि धितोपत्र बोर्डले न्यौपानेलाई ७५ हजार रुपैयाँ जरिवाना गराएको थियो । 

बोर्डले न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०८ अनुसार १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सोसरहको पदमा बहाल हुन पाउने गरी कारबाही पनि गरेको थियो।