– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निषेधाज्ञाबीच यो साता ५ कारोबार दिनमा २ दिन सेयर बजार बढ्यो भने ३ दिन घटेको छ। समग्रमा बजार भने यो साता २६.०२ अंकले बढेको छ। 

यो साता कारोबार रकम ३३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी भएको छ। अघिल्लो साताभन्दा यो साता झन्डै ६ अर्ब रुपैयाँ बढीले कारोबार भएको छ। यो साता बजारमा कारोबार तथा सूचक दुवै बढेको छ।

यो साता हामीले प्राविधिक तथा आधारभूत विश्लेषणअन्तर्गत रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई रोजेका छौँ।

सरकारको नारा छ– ‘नेपालको पानी जनताको लगानी।’ अहिले देशमा सानाठूला गरी करिब ४० वटा जलविद्युत् कम्पनी सञ्चालनमा छन्। यी कम्पनीले धेरै–थोरै देशको जीडीपीमा राजस्व तथा रोजगार सिर्जना गरेर योगदान गरेको देखिन्छ। 

तिनै ४० वटा कम्पनीमध्ये एउटा हो, गुल्मी जिल्लाको रिडी खोलामा निर्मित २.४ मेगावटको रिडी हाइड्रोपावर। यो कम्पनीले वर्षको ६ करोड रुपैयाँ आम्दानी गर्छ भने बुटवलको सोलर पावरअन्तर्गत ८.५ मेगावटबाट वार्षिक ११ करोड आम्दानी हुने देखिन्छ। जसमा ७० करोड रुपैयाँबराबरको लगानी छ। 

यो कम्पनीले रैराङ आयोजनाअन्तर्गत युवाखेलामा १४ कारोड ७० लाख लगानी गरेको छ। जसअन्तर्गत यो वर्ष २० प्रतिशत नाफा आउने कम्पनीका सञ्चालक गुरु न्यौपानेले बताए। ‘सबै जोड्दा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ हुने देखिन्छ’, उनले भने।

बोनस सेयरबाटै पुँजी बढाउँदै जाने र नयाँ सोलरका लागि आवेदन दिएको न्यौपानेले जानकारी दिए। ‘स्वीकृत पाए त्यसलाई आधार बनाएर ५० प्रतिशत हकप्रद आउनेछ’, उनले भने। 

कम्पनीको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार ५८ करोड ५५ लाख ५८ हजार सेयर पुँजी छ भने २ करोड २४ लाख ६७ हजार १७० रुपैयाँ रिजर्भमा रहेको छ। प्रतिसेयर नेटवर्थ १०३.८४ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल आम्दानी १९१.४७ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.५७ गुणा रहेको छ। 

प्राविधिक पक्ष 

फिवोनासी 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि यो कम्पनीको सेयरभाउ बढेमा १.३८ प्रतिशतको वृद्धि २५५ रुपैयाँ हुन्छ भने १.६१ प्रतिशतको वृद्धि २६५.९१ रुपैयाँ हुनेछ। त्यसैगरी २.६१ को वृद्धि ३१० रुपैयाँ तथा ३.८१ को वृद्धि ३८१ रुपैयाँसम्म पुग्ने देखिन्छ।

एमएसीडी लाइन

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत मे ४ का दिन यो कम्पनीको सेयरमूल्य २३५ रुपैयाँमा खरिद सिग्नल (हरियो एरोले देखाएको) बनेको देखिन्छ। जसले खरिद सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्राम (कालो एरोले देखाएका धर्काहरु) पोजेटिभ र लामा–लामा हुँदै गएकोले केही समय बुलिस नै रहने अनुमान लगाउन सकिन्छ।

बोलिंगर ब्यान्ड

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो दैनिक र साप्ताहिक रुपले हेर्न सकिन्छ। दैनिक चार्टअन्तर्गत यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको तथा सेयरको अन्तिम कारोबारको मैनबत्तीले तल्लो धागो लामो बनेकोले सेयर मूल्य बढ्न सक्ने अनुमान लगाउन सकिन्छ भने साप्तिाहिक रुपमा पनि लामो मूल्य रेखाले अप्पर ब्यान्डलाई छोएको छ तर लामो क्यान्डल स्टिक बनेकोले आगामी साता पनि बजारमा खरिद सिग्नल बन्न सक्छ।

आरएसआई विन्दु

यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ६८.५९ रहेको छ। जसको अर्थ कम्पनी ओभर बट जोनको नजिक छ भन्ने हो। अघिल्लो पटक यो विन्दु ७४.३१ को तहमा पुगेपछि करेक्सन आएको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यो कम्पनीको सेयरभाउ केही समय बढ्ने देखिन्छ। यो कम्पनीको आरएसआई ४२.६२ को तल्लो बिन्दुमा आएपछि मूल्य उकालो लागेको थियो।

पिभट विश्लेषण

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध

प्रतिरोध १– २६५

प्रतिरोध २– २७८

प्रतिरोध ३– ३०४

पिभट पेइन्ट–  २५२

घटेमा सर्पोट

सपोर्ट १–  २३९

सर्पोट २– २२६

सर्पोट ३– ३००

नोट : सेयेर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ। विभिन्न प्राविधिक औजारले फरक–फरक संकेत गरेका हुन्छन्। लगानीकर्ताले लगानी गर्दा कुनै एउटालाई मात्रै आधार नमानेर समग्र अध्ययन गरी आफ्नो विश्लेषण र क्षमताअनुसार गर्नुपर्छ।