काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ मंगलबार बिहानसम्म करिब साढे ६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज बिहान १०ः३० बजेसम्म यो आईपीओ ६.४७ गुणाले ओभरसब्सक्राइब्ड भएको हो। गत वैशाख २८ गतेबाट जारी यो आईपीओको २७ लाख ३० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५०० कित्ता तथा कर्मचारीलाई २ प्रतिशतबराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा सर्वसाधारणलाई आवेदन दिने व्यवस्था गरिएको छ। आज बिहानसम्म यो आईपीओमा १४ लाख १३ हजार ५ आवेदकबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकमबराबरको १ करोड ६४ लाख ३६ हजार १४० कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। 

यो आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

यो आईपीओमा भोलि जेठ ४ गतेसम्म आवेदन दिन पाइनेछ।