security board of Nepal
काठमाण्डौ । वास्तविक क्षेत्र(रियल सेक्टर)का कम्पनीहरुलाई समेत पूँजीबजारमा सहभागी गराउने प्रयास देशमै पहिलोपटक सुरु भएको छ । सो क्रममा उद्योग व्यवसायीका नेताहरुले प्रारम्भमा ५ वटा कम्पनीलाई प्रवेश गराउनुपर्ने प्रस्ताव गरेका छन् ।
नेपाल धितोपत्र बोर्डले रियल सेक्टरलाई समेत पूँजीबजारमा प्रवेश गराउने उद्देश्यले सम्बद्ध निकाय तथा संघसंस्थासँग थालेको अन्तरक्रियामा यस्तो प्रस्ताव आएको हो ।
संगठित संस्थाले जारी पुँजीको न्यूनतम १० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने, प्रिमियम मूल्यमा धितोपत्र जारी गर्न सक्ने तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने नयाँ व्यवस्था निकट भविष्यमै लागूू हुँदैछ ।
नयाँ धितोपत्र निष्काशन निर्देशिका जारी गर्ने पूर्वसन्ध्यामा वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्न तथा सम्बन्धित क्षेत्रको सुझाव निर्देशिकामा समावेश गर्न वास्तविक क्षेत्रका प्रतिनिधिमूलक संस्था र केही ठूला कम्पनीहरुसँगको अन्तरक्रिया थालिएको बोर्डले जनाएको छ । यही प्रयास अनुरुप आइतबार वास्तविक क्षेत्रका प्रमुख २ प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका सदस्य संस्थाहरु, एनसेल प्रा.लि., चन्द्रागिरी हिल्स् लि. तथा विभिन्न जलविद्युत, हाउजिङ्ग, लगानी कम्पनीहरु सहित १०० भन्दा बढीको सहभागितामा पहिलोपटक अन्तरक्रिया कार्यक्रम आयोजना भएको बोर्डले जनाएको छ ।
कार्यक्रमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा रहेको सार्वजनिक निष्काशन सम्बन्धी नयाँ व्यवस्था तथा प्रक्रिया सम्बन्धी कार्यपत्र प्रस्तुुत गरेका थिए । सो क्रममा उनले वास्तविक क्षेत्रका कम्पनीहरुको सल्लाहलाई समेत समावेश गरी धितोपत्र निष्काशन निर्देशिका जारी हुने बताए ।
यो कार्यक्रममा एफसिए जगदिश भट्टराईले वास्तविक क्षेत्र तथा दीर्घकालीन पुँजी परिचालन बिषयमा कार्यक्रपत्र प्रस्तुत गरेका थिए । सो क्रममा उनले प्राइभेट संस्था पब्लिकमा गई धितोपत्रको सार्वजनिक निष्काशन गर्दा बृहत पुँजी परिचालन हुने, नयाँ सोच तथा उद्यमशीलता प्रोत्साहित हुने, तरलतामा बृद्धि हुने, कम्पनीको मूल्य बढ्न गई महत्व बढ्ने, कम्पनीको ब्राण्ड स्थापित हुने बताएका थिए । उनले वास्तविक क्षेत्रले सीमित परम्परावादी व्यापारिक सोचलाई त्याग्दै पुँजी बजारमा प्रवेश गरी लाभ लिनुपर्नेमा जोड दिए ।
नेपाल मर्चेण्ट बैंकर संघका अध्यक्ष प्रविणरमण पराजुलीले सार्वजनिक निष्काशन सम्बन्धी नयाँ व्यवस्था तथा मर्चेण्ट बैंकिङ्ग सेवा सम्बन्धमा संक्षिप्त प्रस्तुती पेश गरेका थिए ।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरुले स्वतन्त्र मूल्य निर्धारण विधि, नियमनकारी निकाय नभएका कम्पनीलाई बोर्डले नै नियमन गर्नुपर्ने, पुँजी बजारमा कृषि क्षेत्रलाई पनि आकर्षिक गर्नुपर्ने, मर्जर, एक्विजिशन तथा थप निष्काशन प्रक्रियालाई अझ सरल तथा सहज बनाउनुपर्ने, सूचिकृत कम्पनीबाट प्रकाशित हुने वित्तीय विवरण प्रवाहलाई नियमित बनाई सो को विश्लेषण गर्नुपर्ने र बोर्डको वेभसाइट मार्फत केन्द्रीकृत रुपमा सबैलाई सूचना प्रवाह गर्नुपर्ने, उद्योगीमा कर छुट सम्बन्धी द्विविधा रहेकोमा सो स्पष्ट पार्नुपर्ने लगायतका बिषय उठाएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राज्य वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा ल्याउन सकारात्मक रहेको र बोर्ड यस कार्यमा अग्रसर भइरहेको अवस्थामा बोर्ड तथा नेपाल उद्योग वाणिज्य महासंघ सहकार्य गरी यही आर्थिक वर्षमा नै कम्तीमा ५ वटा वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याई यस कार्यलाई उदाहरणीय बनाउनुपर्ने र वास्तविक क्षेत्रका कम्पनीले सुशासनमा समेत जोड दिनुपर्ने बताए ।
सो क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रविधि विकास गरी आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल उद्योगलाई अन्य देशको पुँजी बजारमा उपलब्ध हुने सुविधा नेपालमा समेत हुनुपर्ने, कम्पनीको संवेदनशील सूचना चुहाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सुदृढ नियमन व्यवस्था गर्नुपर्ने र एकल संचालक भई हाल परम्परावादी प्रवृत्तिमा कार्य गरिरहेकोमा सो प्रवृत्तिमा सुधार ल्याउन समेत पुँजी बजारबाट के कस्तो फाइदा लिन सकिन्छ सो विषयमा स्पष्ट जानकारी दिनुपर्ने बताए ।
बोर्ड अध्यक्ष डा.कार्कीले पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउने क्रममा पब्लिक कम्पनीको रुपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छुट दिने व्यवस्था आ.व. २०७३।७४ को बजेट वक्तव्य मार्फत गरिएको स्मरण गराउँदै तत्कालीन नियमावलीलाई प्रतिस्थापन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ हालै लागू गरिएको सन्दर्भमा बोर्डले नयाँ निष्काशन निर्देशिका जारी गर्ने पूर्व सन्ध्यामा वास्तविक क्षेत्रका कम्पनीको सुझाव लिन अन्तरक्रिया गरिएको प्रष्ट्याए । उनले वास्तविक क्षेत्रका कम्पनीको प्रवेशसँगै पुँजी बजारले अर्थतन्त्रको ऐनाको रुपमा काम गर्ने र पुँजी बजारमा आधारित अर्थतन्त्र नै विश्वसनीय एवं दीर्घकालिन हुने बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago