काठमाण्डौ । अनिश्चितकालीन रिले अनसन गर्न नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को मूलगेटमा पुगेका लगानीकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । 

सेयर लगानीकर्ता दवाब समूहले हिजो(सोमबार)देखि आफ्ना ३२ बुँदे माग पूरा गराउने उद्देश्यले नेप्सेको मूल गेट अगाडि अनिश्चितकालीन रिले अनसन सुरु गरेको थियो । 

सोही कार्यक्रमलाई निरन्तरता दिन मंगलबार बिहान नेप्से गेटमा पुगेका लगानीकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । 

दवाब समूहका अध्यक्ष हरि ढकाल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र अग्रवाल, सल्लाहकार तिलक कोइराला, सुष्मा ढुंगाना लगायत १४ लगानीकर्ता पक्राउ परेका हुन् । 

हाल उनीहरुलाई सिंहदरबारस्थित प्रहरी परिसरमा राखिएको छ । 

दवाब समूहका अध्यक्ष हरि ढकालले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको दाबी गर्दै लगानीकर्ताहरुको हकहितका लागि आन्दोलनमा उत्रिन अन्य लगानीकर्ताका संघ संगठनलाई समेत आह्वान गरेका छन् । 

यसैबीच, दवाब समूहका अधिकांश पदाधिकारीलाई प्रहरीले पक्राउ गरेपछि लगानीकर्ताहरुको समूह स्वेच्छिक गिरफ्तारी दिन भन्दै सिंहदरबारस्थित प्रहरी परिसरको गेटमा पुगेका छन् । करिब ४० जना लगानीकर्ताले अहिले प्रहरी गेट अगाडि नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।