काठमाण्डौ । रुपन्देहीमा बुधबार पुष्टि भएका १२ कोरोना संक्रमितमध्ये ९ जना एउटै परिवारका रहेको खुल्न आएको छ।

रुपन्देहीको गैंडहवा गाउँपालिका–२ जोगडाका १७ जनाको एउटा परिवार गत वैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर घर फर्किएका थिए। तीमध्ये ९ जनामा संक्रमण पुष्टि भएको हो। बुधबारसम्म रुपन्देहीमा संक्रमित संख्या २८ पुगेको छ।

सोही परिवारसँगै मुम्बईबाट आएका जोगडाकै अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार उनीहरू सबै गाउँ फर्किएपछि जोगडा माविमा बनाइएको क्वारेन्टाइनमा गएर बसेका थिए। संक्रमितमा ४ वर्षदेखि ४१ वर्षसम्मका सात पुरुष र तीन महिला छन्। 

त्यसैगरी रुपन्देहीमा संक्रमण पुष्टि भएका अन्य दुईजनामध्ये एक कपिलवस्तुका र एक भारतीय नागरिक छन्। भारतीय नागरिक भैरहवास्थित शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका बखत ज्वरो आएपछि भैरहवास्थित भिम अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। त्यस्तै कपिलवस्तुको महेन्द्र मावि क्वारेन्टाइनमा बसेका पुरुष पनि ज्वरो आएपछि भीम अस्पतालमै भर्ना भएका थिए। सबैको अवस्था सामान्य रहेको बताइएको छ। 

रुपन्देहीका संक्रमितहरूको भैरहवास्थित प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो। 

यसैगरी कपिलवस्तुमा भेटिएका ८ संक्रमित कृष्णनगर नगरपालिकाका छन्। संक्रमितमध्ये तीनजना सुरक्षाकर्मी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार संक्रमित सुरक्षाकर्मीहरू नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक एक, सशस्त्र प्रहरी नायब निरीक्षक एक र राष्ट्रिय अनुसन्धानका सहायक निरीक्षक एकजना छन्। ड्युटीमै रहेका उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पनि उनले जानकारी दिए। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको पौडेलले बताए।

त्यस्तै कपिलवस्तुका अन्य पाँच संक्रमित भने भारतबाट आएका र उनीहरू नगरपालिकाको महेन्द्र मावि क्वारेन्टाइनमा बसेका थिए। योसँगै कपिलवस्तुमा कुल संक्रमित संख्या ३८ पुगेको छ।