विश्व रामसार सूचीमा सूचीकृत कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना (साबिक लेखनाथ नगरपालिका–१०, ११ र १४) को केही भागले छोएको यस तालमा बढ्दै गएको प्राकृतिक र मानवीय अतिक्रमणको शिकार बन्न थालेपछि परियोजनाअन्तर्गत संरक्षणका काम अघि बढाइएको हो । परियोजनाअन्तर्गत पहिलो चरणमा तीन सय रोपनी जग्गाको मुआब्जा निर्धारण गरिएकामा बाँध बाँध्न आवश्यक पर्ने थप सात सय रोपनीको मुआब्जा दोस्रो चरणमा निर्धारण गरिएको हो ।
परियोजनाका प्राविधिक इञ्जिनीयर कृष्ण विकका अनुसार दोस्रो चरणअन्तर्गत तालको तल्लो क्षेत्रका लागि प्रतिरोपनी १२ लाख ९३ हजार र माथिल्लो क्षेत्रका लागि १२ लाख ५० हजार रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । चरणबद्ध अघि बढ्ने परियोजनाको रु चार अर्ब ५२ करोड लागत अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
उचित मुआब्जाको मागसहित उक्त क्षेत्रका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, परियोजना कार्यालय एवम् सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका थिए । ताल संरक्षणको डिपिआर तयार गर्दा तालभित्र पर्ने जग्गालाई सरकारले मुआब्जा दिएर अधिग्रहण गर्दै आएको छ ।
पहिलो चरणमा ३१० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जसमध्ये अझै करीब सय जनाले मुआब्जा लैजान बाँकी रहेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिका निवर्तमान अध्यक्ष कुलप्रसाद अधिकारीले बताउनुभयो ।
परियोजनाअन्तर्गत तालको संरक्षणका लागि मुहानबाट आउने पानीलाई तीन ठाउँमा चेक ड्याम बनाएर जम्मा गरिनेछ । जसबाट खोलाले बगाएर ल्याएको ढुङ्गामुढा, बालुवा तालमा नपुग्ने र पुरिने सम्भावना कम हुनेछ ।
सिस्टेनीघाट–सुवेदीटुँडामा ६०० मिटर लम्बाइ, जगमा १२ मिटर चौडाइ, छ मिटर उचाइ र पानीको सतहभन्दा चार मिटर माथिसम्म बाँध निर्माण गरिनेछ । जसले पानीको सतह चार मिटर बढाउनेछ ।
तालको मुख्य स्रोत तालबेँसी खोलाबाट बर्सातमा बगाएर ल्याउने माटो तथा काठपातका कारण बर्सेनी छ रोपनी ताल पुरिएको अध्ययनले देखाउँछ । अहिले यसको औसत गहिराइ चार मिटर छ, संरक्षणपश्चात नौ मिटर हुनेछ ।
विसं २०३२ को नापीमा १३६ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले १०७ हेक्टरमा खुम्चिएको छ । बाँध बनेपछि १७४ दशमलव ४ हेक्टरमा फैलिनेछ । विसं २०६४ को केन्द्रीय नापी टोलीको तथ्याङ्कअनुसार रूपातालको ८०० रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ ।
त्यस्तै साबिक लेखनाथ नगरपालिकाको पछिल्लो प्रतिवेदनमा रुपातालको कूल क्षेत्रफल १६३.९ हेक्टर रहेकामा जलमग्न भाग १२१.७६ खेती भएको ३३.४३, सिमसार क्षेत्र ८.७५ हेक्टर र गहिराइ औसत ४.८ मिटर छ । सूर्यको किरणसँगै पानीका रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको स्थानीयवासी बताउँछन् ।
रुपातालको संरक्षण र विकासका माध्यमबाट पर्यटकीय विकासका साथै आयआर्जनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको बेगनास रुपाताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो । “रुपातालको सौन्दर्य र यसको पर्यटकीय आकर्षण आय आर्जनसँग जोडिनु आवश्यक छ”, उहाँले भन्नुभयो, “प्रस्तावित परियोजना सफल भएसँगै यसको संरक्षण र विकासका साथै पर्यटकीय रुपमा पनि यो महत्वपूर्ण गन्तव्य बन्ने देखिन्छ ।”
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago