काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर आज सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि यो कम्पनीको सेयरलाई न्यूनतम रु. ११८.८४ र अधिकतम ३५६.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज स्पेस प्रिओपन सेसनमा यो कम्पनीको सेयर ३५६ रुपैयाँमा किनबेच भएसँगै  नियमित समयमा कारोबार खुलेको हो। नेप्सेले यो कम्पनीलाई ‘आरयूआरयू’ कारोबार संकेत प्रदान गरेको छ।

यो कम्पनीको साधारण सेयर (नेप्से) मा हिजो आइतबार सूचीकरण भएको थियो। यो कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ४ लाख ७ हजार ७०६ कित्ता, आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता गरी कुल ४० लाख ७७ हजार ५५ कित्ता सेयर सूचीकृत भएको हो। 

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। आईपीओ बाँडफाँड भने गत वैशाख ३ गते गरिएको थियो।