काठमाण्डौ । रुरु जलविद्युत् परियोजना लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आउँदो फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले गत माघ २१ गते यो कम्पनीलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आमईपीओ निष्कासनको अनुमति दिएको थियो। त्यसमध्ये पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ। 

पहिलो चरणको आईपीओ निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलामा चैत ८ गते बैंकिङ समयपछि हुने एनएमबि क्यापिटलले जनाएको छ। 

कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणका लागि कम्पनीले अंकित दरमा रु. २० प्रिमियम थपेर रु. १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ।