काठमाण्डौ । रुसमा शनिबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ।

पहिलो चरणमा उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा कोरोनाविरुद्धको (स्पुतनिक–५) खोप दिन सुरु गरिएको हो। सुरुमा मस्कोका विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसलाई खोप दिइँदैछ। राजधानी मस्कोमा खोपको पहिलो डोज लिन हजारौँ सर्वसाधारणले पनि आफ्नो नाम दर्ता गराइसकेका जनाइएको छ। 

मस्कोमा मात्रै १ करोड ३० लाख जनसंख्या छ। उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख डोजमात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आगामी ६ साताभित्र सम्पूर्ण नागरिकलाई खोपको पहिलो डोज दिइसकिने दाबी गरेका छन्। 

अहिले मस्कोका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत नाम दर्ता गर्न पाउने व्यवस्था मिलाइएको छ। खोप लिने केन्द्रहरू बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने हुनेछन्। 

पछिल्लो ३० दिनमा कुनै अन्य खोप लिएका वा श्वासप्रश्वास भएका, दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई यो खोप दिइने छैन। 

रुसी वैज्ञानिकहरुले यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेका छन्। यो खोप दुईपटक लगाउनुपर्छ। पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइने रुसी अधिकारीहरुले बताएका छन्। 

रुसमा संक्रमितको संख्या २४ लाखभन्दा बढी छ। तीमध्ये हालसम्म ४२ हजार २०० बढीको मृत्यु भइसकेको छ। – एजेन्सी