काठमाण्डौ । नेपालको सेयर बजारमा उच्च बजार पुँजीकरण भएको नेपाल टेलिकम (एनटीसी)को सेयरमा चलखेल हुनु हिजोआज सामान्यजस्तै भएको छ। यसमा पनि ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र एनटीसीले लगानीकर्ताका लागि नयाँ विषय होइन। बजार घटाउन तथा बढाउन यो कम्पनीको पुँजीबजारमा निकै कारोबार भएको देखिन्छ। आज नै एनटीसीले लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। 

आज बजार दिनभर घटेको थियो। तर, अन्तिम १ मिनेटमा एकाएक ब्रोकर नं. ५८ बाट एनटीसीको अस्वाभाविक कारोबार भएको देखिन्छ। (हेर्नुहोस् फ्लोर सिट) 

दिनभर बजार १० देखि १५ अंकले तल घटेको थियो। अन्तिम समयसम्म ९०० रुपैयाँभन्दा तल कारोबार भएको एनटीसीको सेयरभाउमा बजार बन्द हुन १ मिनेट मात्र बाँकी रहँदा ९५३ रुपैयाँमा कारोबार भएको छ। यस हिसाबले यो कम्पनीमा एकै मिनेटमा ५३ रुपैयाँ बढेको छ। यसले १० अंकभन्दा बढीले घटेको बजार पनि फर्केको छ। 

यस्तो अस्वाभाविक कारोबारको विभिन्न सामाजिक सञ्जालहरुमा चर्को आलोचनासमेत भएको छ। सामाजिक सञ्जालमा लगानीकर्ता राजकुमार केसीले व्यंग्य गर्दै एनटीसीको चार्ट हाल्दै लेखेका छन्, ‘अब नेपालमा पनि क्रिप्टोकरेन्सीको सुरुआत भएछ।’

केसीकै स्ट्याटसमा विदूर धमालाले लेखेका छन्, ‘सोझा मानिस फसाउने तरिका !’

सामाजिक सञ्जालमै दिनेश उप्रेतीले लेखेका छन्, ‘यसरी सर्वसाधारणले पनि देख्ने गरी चलखेल हुँदा नियामक निकायले किन नदेखेको होला ? कतै नियामकको पनि यो ब्रोकरप्रति साहनुभूति र मेलमिलाप त छैन ?’