– प्रकाश न्यौपाने

काठमाण्डौ । कोरोना महामारीले उग्र रुप लिन थालेपछि सरकारले लकडाउन गर्दा सेयर बजारसँगै अन्य व्यापार–व्यवसाय ठप्प बन्न पुगेको थियो। करिब ३ महिना बन्द भएको सेयर बजार फेरि खुलेको थियो। त्यसपछि भने सेयर बजारमा उछाल नै आएको थियो। 

कोरोनाकालमा प्रायः हरेक घरमा सेयर बजारले चर्चा पाएको थियो। सेयर बजार पसेकाहरुले धेरै कमाउन सफल पनि भए। 

त्यतिबेला प्राथमिक बजार पनि चम्केको थियो। आईपीओ भर्ने नै २५ लाखभन्दा बढी थिए। 

करिब २१ महिनाअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कसिलो नीति लिएपछि बजार सुस्ताएको छ। हालसम्मकै उच्च विन्दु ३२०० बाट झरेर १८०० को लाइनमा आएको बजार अहिले १९५० माथि पुगेको छ। आईपीओमा १५ लाख आवेदन पनि मुस्किल भइरहेको छ।

आईपीओ भन्नेबित्तिकै आमलगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ दरका सेयर भन्ने बुझ्छन्। त्यो सही पनि हो। तर, नेपालकै सेयर बजारमा १० रुपैयाँ अंकित दर राखेर आईपीओ जारी गर्ने कम्पनी पनि रहेको छ। त्यो कम्पनी हो, सोल्टी होटेल लिमिटेड।

सोल्टी होटेलले १० रुपैयाँ दरले सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। यो होटेलमा संस्थापक समूहको ८५ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ। जसमा संस्थापक समूहको ७ करोड ५२ लाख ८७६ कित्ता र सर्वसाधारणको १ करोड ३२ लाख ७० हजार ६३० कित्ता रहेको छ। 

पछिल्लो समय होटेल सेक्टरमा चमक आइरहेको छ। योसँगै सोल्टी होटेलको सेयरभाउ पनि बढेको छ। यो होटेलको पछिल्लो ५२ साताको अधिकतम मूल्य प्रतिकित्ता ३०९.३० रुपैयाँ र न्यूनतम मूल्य ८६.० रुपैयाँ रहेको छ। अन्तिम कारोबार मूल्य भने ३०९ रुपैयाँ रहेको छ। 

सोल्टी होटेलको सेयर दोस्रो बजारमा सन् २००७ जुलाईको अन्तिम साताबाट कारोबारमा आएको थियो। त्यतिबेला यो होटेलको सेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले लगानी गरेर होल्डमा बसेका लगानीकर्ता भने यतिबेला मालामाल भएका छन्। प्रतिकित्ता १० रुपैयाँ लगानी गरेकाहरुको सम्पत्ति अहिलेको मूल्यलाई दाँजेर हेर्दा सयौँ गुणाभन्दा बढीले बढेको छ। 

उदाहरणका लागि दोस्रो बजारमा कारोबार आउँदा कोही लगानीकर्ताले १० रुपैयाँको दरले यो होटेलको १ हजार कित्ता सेयरमा १० हजार रुपैयाँ लगानी गरेका थिए। यदि ती लगानीकर्ताले उक्त सेयर होल्ड गरेका छन् भने बोनस सेयर जोड्दा ५ हजार ६९२ कित्ता पुग्छ। अन्तिम कारोबार मूल्यअनुसार उनको १० हजार रुपैयाँको लगानी बढेर अहिले १७ लाख ५८ हजार ८८२ रुपैयाँ पुगेको छ। 

पछिल्लो १० वर्षमा होटेलले वार्षिक औसत १६ प्रतिशत नगद लाभांश पनि दिएको देखिन्छ। 

बजारले ३२०० को उच्च विन्दु चुमेका दिन सोल्टी होटेलको सेयर प्रतिकित्ता २७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। २०७१ कात्तिक ३१ गते भने यो होटेलको सेयर प्रतिकित्ता ६४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। जुन हालसम्मकै उच्च हो।