काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७९/८० बाट १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्नेे भएको छ। 

आन्तरिक राजस्व विभागले आव २०७७/७८ वा २०७८/७९को मूल्य अभिवृद्धि र तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको हो। तर, कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बिजक जारी नगर्ने बैंक तथा वित्तीय संस्थाजस्ता निकायको कारोबारका हकमा यो व्यवस्था लागू नहुने विभागले जनाएको छ।

यसैगरी बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु (काठमाण्डौ उपत्यकाबाहिरका समेत)ले अनिवार्य रुपमा विद्युती बिजक जारी गर्नुपर्ने विभागले व्यवस्था गरेको छ। 

विभागले यसअघि २०७५ फागुन २९ गते जारी सूचनामा तोकिएका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने प्रावधानलाई आगामी आर्थिक वर्षका लागि निरन्तरता दिएको छ।