काठमाण्डौ । दोश्रो बजारमा ११०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको सेयर सस्तोमै पाउने अवसर बिहीबारदेखि खुलेको छ । 

यो कम्पनीले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको ८ हजार ८९५ कित्ता सेयर अक्सनमार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीले आगामी बैशाख २६ गतेदेखि बिक्री नभएको संस्थापक समूहतर्फको १ हजार २७८ कित्ता र सर्वसाधारण समूहतर्फको ७ हजार ६१७ कित्ता सेयर लिलामीमा राखेको हो । 

इच्छुक लगानीकर्ताले जेठ २ गतेभित्र लिलामीमा सहभागी हुनका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। 

लिलामीका लागि सिद्धार्थ क्यापिटल लिमीटेडको बिक्री प्रबन्धक तोकिएको छ। 

इच्छुक लगानीकर्ताले नक्सालस्थित सिद्धार्थ क्यापिटलको मुख्य कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज,जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर तथा उन्नति माइक्रोफाइनान्सको रुपन्देहीस्थित कार्यालयबाट समेत लिलामीका लागि दरखास्त पेश गर्न सक्नेछन् ।

यो माइक्रोफाइनान्स कम्पनीले केही समयअघि १ लाख १० हजार हकप्रद सेयर निश्कासन गरेको थियो । सोमध्ये ८ हजार ८९५ कित्ता बिक्री नभएको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ। यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ४०.५० प्रतिशत बोनस वितरणको घोषणा गरिसकेको छ। बोनस सेयर समेत समायोजनपछि कम्पनीको चुक्तापूँजी बढेर ८ करोड ८२ लाख रुपैयाँको उचाईमा पुग्नेछ। 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३ करोड १६ लाख खूद नाफा आर्जन गरेको छ ।