काठमाण्डौ । पहिलोपटक अनुचित लेनदेन (मिटरब्याज)मा संलग्न रहेको आरोपमा सोमबार एक व्यक्तिमाथि मुद्दा दर्ता भएको छ। 

ललितपुरका एक व्यक्ति ३० लाख रुपैयाँ सापटी लिएर १ करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको उजुरी गरेका थिए। पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेनमा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर–२६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ मुद्दा चलाएको हो। 

ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुचित लेनदेन गरेको आरोपमा ज्ञानेन्द्रमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

प्रहरीका अनुसार ज्ञानेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख रुपैयाँ सापटी दिई वैदेशिक रोजगारको कागज बनाएका थिए। मनोजले पटकपटक गरी १ करोड २६ लाख रुपैयाँ लिएर पनि अझै रकम तिर्न बाँकी भएको बताएपछि साँवाभन्दा बढी लिन नहुने, अनुचित लेनदेन गर्न नहुने कसुरमा प्रहरीमा किटानी जाहेरी दिएका थिए। 

ज्ञानेन्द्रको घरमा खानतलासी गर्दा ७ करोड २८ लाख ७७ हजार रुपैयाँको विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरिएको प्रहरीले जनाएको छ। ती तमसुक केही वडामा समेत प्रमाणित गरेको र केही म्याद नाघेका फेला परेका छन्। 

अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने ऐन अध्यादेशबाट आएको थियो । सो ऐन संसदबाट अनुमोदन भइसकेको छैन। मुलुकी अपराध संहिता–२०७४ को दफा २४९ लाई अध्यादेशमार्फत २०८० वैशाखमा सरकारले संशोधन गर्ने निर्णय गरेको थियो।