-भक्तराज रसाइली 
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा सेयर बिक्रीबापतको पैसा समयमा नदिने त कहिले खरिद गरेपछि समयमा सेयर डिम्याट खातामा नपठाइदिने गुनासा अधिकांश लगानीकर्ताबाट सुन्न पाइन्छ । 

सामाजिक सञ्जालहरुमा हिजोआज ब्रोकरेज सेवाप्रतिको गुनासो सु्न्नु नपरेको दिन हुँदैन । झट्ट सुन्दा सबैभन्दा विवादित र अपजसी पेशाजस्तो लाग्ने ब्रोकरहरु पनि सबै एकैनाशका हुँदैनन् । 

कुरा गत असोज ५ गतेको हो । स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीज लिमिटेडकी ग्राहक तथा सक्रिय महिला लगानीकर्ता उमा नेपालीले लिबर्टी इनर्जीको सेयर दोस्रो बजारबाट अनलाइनबाटै खरिद गरिन् । 

नेपालीले स्टक ब्रोकर नम्बर २८ बाट अनलाइन युजर र पासवर्ड लिई आफैंले टीएमएसमार्फत सेयर किनबेच गर्र्दै आइरहेकी छिन् । सो ब्रोकरको ३ वर्षदेखिकी ग्राहक नेपाली र स्टक ब्रोकर नम्बर २८ को सम्बन्ध निकै सुमधुर पनि छ । 

उनले असोज ५ गते लिबर्टी इनर्जी कम्पनीको २०० कित्ता सेयर आफैंले अनलाइनमार्फत खरिद गर्न अर्डर हालिन् । अर्डर हाल्ने क्रममा उनले १५ सय पटकसम्म अर्डर प्रविष्ट गरिन् । नेपालीले नै अनलाइनमार्फत सेयर किन्न अर्डर गर्ने क्रममा १५ सय पटक अर्डरमार्फत लिबर्टीको ३१ हजार ६ सय ३० कित्ता सेयर प्रतिकित्ता २४३ मा खरिद भएछ । 

करिब ७७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएपछि उनको होसहवास नै उड्यो । त्यसपछि उनी आफूले चिनेका र नेप्सेसँग चिनजानका व्यक्ति लिएर नियामक धितोपत्र बोर्ड र नेप्सेमा डिल क्यान्सिल गर्न धाइन् । जुन सरासर गलत थियो । 

विश्वका सेयर बजार ‘वचन नै प्रतिबद्धता’ भन्ने सिद्धान्तमा आधारित हुन्छ । यसमा उनी आफैंले अनलाइनमार्फत लिबर्टीको १५ सय पटक अर्डर हाल्न पुग्दा ३१ हजार ६३० कित्ता सेयर खरिद भयो अर्थात् ७७ लाख रुपैयाँभन्दा बढी रकम नेपालीले तिर्नुपर्ने भयो । 

सो दिन नेप्सेको टीएमएसमा पनि कुनै समस्या वा प्राविधिक कमजोरी थिएन । स्वयम्को निर्णय र प्रविधिमैत्री बन्न नसक्ने आफ्नै कमजोरी गलपासो बनिदियो । 

लिबर्टीको भर्खरै आइपीओ आएर दोस्रो बजारमा खरिदबिक्री हुँदैछ । बजारमा खुद्रा रुपमा रहेका १० कित्तादेखि ३० कित्तासम्म लगानीकर्ताहरुको हातमा यो कम्पनीको सेयर परेको छ । तिनै लगानीकर्ताहरुले बेचेको उक्त सेयरको पैसा हालसम्म हाता लागेको छैन, कारण सो सेयरको सेटलमेन्ट बिहीबार मात्र हुँदैछ । 

प्रविधिलाई सही ढंगले प्रयोग गर्न नजान्दा र उमाको निर्णयले अन्य लगानीकर्तासमेत पीडित बन्न पुगेका छन् ।

अब के होला ?
यो प्रकरणमा स्टक ब्रोकर नम्बर २८ अर्थात् श्रीकृष्ण सेक्युरिटीजले सकारात्मक भूमिका खेलिदिएको छ । सेक्युरिटीजले नै अब राफसाफका लागि ७७ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरिदिने भएको छ, आफ्नो एक क्लाइन्टको समस्या तत्कालका लागि दूर गर्न ।

नेपालीको त्यो भूल मानवीय कमजोरी हो या नियतवश गरिएको भूल, त्यो उनैलाई थाहा होला, तर स्टक ब्रोकर नम्बर २८ का सञ्चालक नन्दकिशोर मुन्दडाले भने महानता देखाएका छन् ।

मुन्दडा ब्रोकरहरुमध्ये निकै अनुभवी, व्यवहारिक र भद्र व्यक्तिका रुपमा चिनिन्छन् । मुन्दडाले १ महिनाभित्र बेचेर हिसाबकिताब मिलाउने शर्तमा नेपालीलाई अहिले सहयोग गरिदिएका बताइएको छ।

मुन्दडाको यो सद्भाव र सहकार्यले नेपालीलाई ठूलो राहत मिलेको छ । करिब १ करोड रुपैयाँ हाराहारी १ महिनाका लागि सहयोग गर्नु अहिलेको जटिल समयमा उदाहरणीय कार्य नै हो । 

यो त एउटा उदाहरण मात्रै हो । यस्ता कतिपय घटनाहरु ब्रोकर र लगानीकर्ताहरुको सुसम्बन्ध र सुझबुझका कारण मिलेका पनि छन् । 

के पाठ सिक्ने ?
प्रविधिले सेयर बजारलाई निकै सहज बनाइदिएकै हो, तर प्रविधि सही ढंग र उचित ढंगले चलाउनुपर्छ । सेयर बजार पैसामा आधारित निकै संवेदनशील लगानीको क्षेत्र पनि हो । यो घटनाबाट प्रविधिमा पूर्ण रुपमा निपुण भएपछि मात्रै सेयर बजारजस्तो संवेदनशील क्षेत्रमा सेल र बाई अर्डर राख्ने गर्नुपर्छ भन्ने सन्देश प्राप्त हुन्छ । 

सेयर बजारमा ब्रोकर र लगानीकर्ताहरुको सम्बन्ध नङ र मासु जस्तै हुन्छ । दुवै एकअर्काका परिपूरक पनि हुन् । राम्रो र सौहार्दपूर्ण सम्बन्धले आगामी दिनमा दुवै पक्षलाई फाइदा नै गर्छ । यो घटना झै लगानीकर्तालाई परेका कतिपय स्वभाविक पीडाहरुमा ब्रोकरहरुले थोरै मात्र भए पनि व्यवहारिक भएर सहयोग गरिदिने हो भने बजारको जतिसुकै ठूलो समस्या पनि हल हुनसक्छ भन्ने देखिन्छ ।