काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० भन्दा बढी मूल्य रहेको सेयरमा हकप्रद भर्ने अवसर आयो भने तपाई के गर्नुहुन्छ ? अधिकांश सहज उत्तर हुनसक्छ दायाबायाँ नहेरी हकप्रद भरिन्छ । तर, नेपालमै यस्ता लगानीकर्ता पनि छन्, जो यस्तो अवसर समेत समयमा छोप्न जान्दैनन् वा चाहदैनन् । 

एनएमबी लघुवित्त वित्तीय संस्था लिमीटेडको हकप्रदको हकमा यस्तै घटना भएको छ । यो कम्पनीले केही समयअघि जारी गरेको १: १.५ अनुपातको हकप्रद खरीदमा सर्वसाधारण सेयरधनीहरुमध्ये केहीले चासो नै दिएनन् ।यहीकारण यो कम्पनीले बजारमा ६५० को हाराहारीमा मूल्य रहेको सेयरको नभरिएको हकप्रदका कित्ताहरु अक्सनमार्फत बिक्री गर्ने भएको छ । 

कुनै पनि कम्पनीको हकप्रद सेयर भर्नु भनेको त्यो कम्पनीको दोश्रो बजार मूल्य जति नै पुगे पनि प्रतिकित्ता १०० मै सेयर किन्न पाउने अवसर पनि हो । यस्तो अवसर सो कम्पनीका सेयरधनीले मात्र पाउँछन् । तर, जब सेयरधनीले यस्तो अवसरको सदुपयोग गर्दैनन्, तब सम्बन्धित कम्पनीले नबिकेको हकप्रद सेयर लिलामीमार्फत बढी मूल्यमा बिक्री गर्ने गर्छ । 

एनएमबी लघुवित्तले २०७६ कात्तिक २४ गतेदेखि १५० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा संस्थापक सेयरधनीले सबै कित्ता खरीद गरे पनि सर्वसाधारणले भने १ लाख ८ हजार ७३३ कित्ता खरीद नै गरेनन् । खरीद नगरेको तिनै कित्ता निकट भविष्यमै अक्सनमा आउने भएको हो । 

कम्पनीले हकप्रदबाट २४ करोड ३० लाख पूँजी बढाउन खोजेको हो । हकप्रदको सबै व्यवस्थापनपछि कम्पनीको चुक्तापुँजी हालको १६ करोड २० लाखबाट बढेर ४० करोड ५० लाखको उचाईमा पुग्नेछ । 

यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको समेत घोषणा गरेको छ ।