काठमाण्डौ । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार संलग्न रहेको आरोपमा काठमाण्डौबाट तीनजना पक्राउ परेका छन्। 

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिटक्वाइन, यूएसडीटी सोलाना, इथेरियमलगायत विभिन्न क्रिप्टोको अवैध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भई काठमाण्डौको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई हाल क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचान छन्। उनीहरुलाई प्रहरीले आइतबार र सोमबार काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

यी ३ जनाले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँबराबरको क्रिप्टो कारोबार गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

हाल उनीहरुमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको जनाएको छ। 

पक्राउ परेकामध्ये मिश्रले सन् २०२१ देखि बाइनान्स अकाउन्ट प्रयोग गरी विभिन्न २० वटा क्रिप्टोकरेन्सी जम्मा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ बताए। उनी एक्लैले ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैयाँबराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ। हाल भने उनको बाइनान्सको अकाउन्टमा १२ हजार ८३२ अमेरिकी डलरबराबरको बिटक्वाइन देखिएको छ।

त्यस्तै थापाले पनि सन् २०२१ मेदेखि बाइनान्सका दुइटा अकाउन्टमार्फत ७ वटा क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ। उनले मात्रै २४ करोड ७९ लाख ५६ हजार ९१८ रुपैयाँबराबरको क्रिप्टो कारोबार गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हाल उनको अकाउन्टमा हाल १ हजार ३९९.८० डलरबराबरको बिटक्वाइन रहेको देखिएको छ। 

यसैगरी चचानले करिब १ वर्षदेखि २० वटा क्रिप्टो जम्मा गरी ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँबराबरको कारोबार गरेको प्रहरीले जनाएको छ। उनको अकाउन्टमा हाल ६५१ अमेरिकी डलरबराबरको बिटक्वाइन रहेको देखिएको छ।