काठमाण्डौ । धितोपत्र कारोबारको चौथो दिन बुधबार पनि बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार ४३.३६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६१९.०२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४८ अंकले बढेर ४६३.५९ को उचाइमा पुगेको छ। कारोबार रकम भने सवा ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार मेघनाथ निरौलाले बजारको अबको लक्ष्य २८०० को विन्दु चुम्नु नै रहेको बताएका छन्। ‘अझै पनि बजारमा वास्तविक बुल आउनै बाँकी छ’, उनले भने, ‘यसबीच सानातिना करेक्सन आउन सक्छन् तर अब बजार नयाँ उचाइ अवश्य चुम्छ।’
अबका दिनमा सबै सेक्टरमा चमक आउने पनि निरौलाको तर्क छ। ‘बैंकहरु पनि बढ्छन्, जलविद्युत् पनि बढ्छन्’, उनले भने, ‘जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अझै प्रतिफल बाँड्नै बाँकी छ, बीमा कम्पनीहरुमा त झनै चमक आउँछ। बीमा गर्नुपर्छ भनेर आमसर्वसाधारणका चेतना जागेका कारण बीमा कम्पनीहरुको व्यापार पनि बढेको छ।’
निरौला यो अफसिजनमा बजार बढ्नुलाई सकारात्मक ढंगले लिनुपर्ने बताउँछन्। ‘यतिबेला बैंकहरुको ब्याज तिर्ने चटारो हुन्छ तर यही बेला विभिन्न कम्पनीहरुले नगद लाभांश बाँडेकाले लगानीकर्ताहरु बैंकको ब्याज तिर्नु सहज भएकोले सेयर किनबेचमा खासै प्रभाव नपर्दा बजार बढेको हो’, उनले भने।
निरौलाले अहिले मेरो सेयर, टीएमएस र नेप्से वेबसाइटमा बारम्बार देखिने समस्याले लगानीकर्ताहरुलाई कारोबार गर्न केही असहज भइरहेको गुनासो पोखे। उनले यी सबै प्राविधिक पक्षको क्षमता बढाउँदै कारोबारमैत्री वातावरण बनाउन सम्बन्धित निकायलाई सुझाव दिए।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
आज दिन निर्जीवन बीमा समूह सर्वाधिक ३४९.६८ अंकले उकालो लागेको छ। जीवन बीमा समूह १६७.९६ अंकले बढेको यो दिन बैंकिङ समूहमा ४०.८६ अंक, होटेल तथा पर्यटन समूहमा ६३.२ अंक, विकास बैंक समूहमा ४२.९२ अंक, जलविद्युत् समूहमा ३३.५२ अंक, वित्त समूहमा ९.३९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३१.८१ अंक, अन्य समूहमा २५.८२ अंक, लघुवित्त समूहमा २७.५९ अंक, म्युचुअल फन्ड समूहमा ०.१२ अंक र लगानी समूहमा १.७९ अंकको बढोत्तरी भएको छ।
यो दिन व्यापार समूहमा ९८.९९ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्टको सर्वाधिक ३६ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्ला तामाकोशीको ३१ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको ३० करोड २६ लाख रुपैयाँ, नबिल बैंकको २४ करोड ७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १३ करोड ९० लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ५० लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको १२ करोड ३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ११ करोड ६ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ५८ लाख रुपैयाँ र रसुवागढी हाइड्रोपावरको ९ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यो दिन राइराङ हाइड्रोपावर, बोटलर्स नेपाल (तराई) र युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरमूल्य ३ प्रतिशत बढीले ओरालो लागेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago