गोरखा । तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ ।

चीन सरकारले सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँसम्म कच्ची सडक खनेपछि ट्रक, जिप र मोटरसाइकल चल्न थालेको हो । तिब्बतको जोङ्गा जिल्लाको कोङ्दाङ सहर हुँदै गत वैशाखमा खनिएको कच्ची सडकमा हालैदेखि सवारी साधन चल्न थालेका हुन् । 

तिब्बतको रुइढाक्यामा आयोजित पूजामा गएका गोरखा सामागाउँका ३० जना ट्रक चढेर सिमानाको ३५ नम्बर पिल्लर छेउ सडक आइपुगे । पहिलोपटक गाडी चढेका गाउँले निकै खुसी देखिन्थे । माथिल्लो गाउँ, साम्दोका निमा दोर्जेले भने –‘चीन सरकारले सीमा क्षेत्र भएर गाडी कुदायो तर हामीलाई यहाँबाट गोरखा सदरमुकाम पुग्न नौ दिन हिँड्नुपर्छ ।’ 

सदरमुकामबाट तिब्बत जोड्ने लक्ष्यसहित खनिएको सडक अहिले गुम्दा गाविससम्म पुगेको छ । चिनियाँ सरकारले सामागाउँको सीमासम्म सवारी साधान चलाइसकेको अवस्थामा नेपालबाट चार वर्षदेखि खनेको सडक भने अहिलेसम्म छेकम्पार गाविसको सीमासम्म पनि पु¥याउन सकिएको छैन । छेकम्पार र सामागाउँ छुट्टाछुट्टै उपत्यकाभित्र पर्छन ।

छेकम्पारबाट सामागाउँ पुग्न दुई दिन हिँड्नुपर्छ । हेलिकप्टरबाट डोजर ढुवानी गरेर चार वर्षअघि छेकम्पारमा सडक खन्न सुरु गरिएको भए पनि अहिले म्हु गुम्बासम्म मात्रै सडक खनिएको छ । 

हिउँदमा हिउँ पर्ने भएकाले सीमा क्षेत्रका सडक बर्षायाममा मात्रै चल्छन । चीनले निर्माण गरेको सडक कच्ची हो । सीमानाबाट सामागाउँ गाविससम्म १५ किमी नयाँसडक निर्माण गर्नुपर्ने हुन्छ । तिब्बत जोड्ने योजनासहित खन्न सुरु गरेको सडक गुम्दा गाविसमा पुगेर रोकिएको जिल्लास्थित सडक कार्यालयले जनाएको छ । 

यस्तै आरुघाट, सोती हुँदै खनिएको सडक लापु गाविसको सिमानामा पुगेर रोकिएकाले अझै गोरखाको माथिल्ला १३ गाविसमा सडकको पहुँच छैन । 

सीमानादेखि गोरखा सदरमुकामसम्म १६२ किमी लामो सडक हुने अनुमान गरिएको छ । तिब्बत जोड्ने योजनासहितको सडकमा बर्षेनी करोडौँ बजेट विनियोजन भए पनि विभिन्न बहानामा बजेट फिर्ता जाने गरेको स्थानीय बासिन्दाको गुनासो छ । 

सामागाउँ र छेकम्पारबाट तिब्बतको बजारमा पुगेर सामान किन्ने यहाँका बासिन्दा अहिलेसम्म सडकको अभावमा घोडामै आवत जावत गर्छन भने चौँरीबाट दुई दिन लगाएर सामान ढुवानी गर्ने गर्छन् । 

जिल्लास्थित सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्री भन्छन्–‘सडकको ट्रयाक खन्न रु आठ लाख बजेट छ । यो बजेट धेरै थोरै हो ।’