-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र कार्यशैलीका कारण सेयर बजार ध्वस्त हुने अवस्थामा पुगेको दाबी गर्दै ५० वटै ब्रोकर उनीविरुद्ध खनिएका छन् ।
बोर्डका अध्यक्ष डा. कार्कीले अर्थसमितिको बैठकमा धितोपत्रको दलाल व्यवसायीको मानमर्दन हुने गरी अभिव्यक्ति दिएपछि आक्रोशित ब्रोकर उनीविरुद्ध जागेका हुन् ।
यही क्रममा ५० वटै ब्रोकरहरुको हस्ताक्षरसहित केही ब्रोकर बोर्डको संचालक समितिलाई ज्ञापनपत्र बुझाउने उद्देश्यले जाउलाखेल पुगेका छन् ।
उनीहरुले अध्यक्ष डा. कार्कीको सन्कीपन र हठविरुद्ध ज्ञापनपत्र लिएर बोर्ड गएको बताएका छन् ।
पछिल्लो समय निकै विवादमा आएका बोर्ड अध्यक्ष कार्कीको मनोमानी र सन्कीपनविरुद्ध सबै ब्रोकर मिली बोर्ड संचालक समक्ष ज्ञापनपत्र बुझाइएको एक ब्रोकरले जानकारी दिए ।
समग्र पूँजीबजारको विकास र विस्तारमा भन्दा पनि कार्कीले मनोमानी ढंगले काम गरी बजारको विकासमा अहोरात्र खटिने ब्रोकरहरुलाई हतोत्साही गर्दै आएका उनीहरुको आरोप छ ।
ब्रोकरहरुले बिना सेटल्मेण्ट ग्यारेन्टी फन्ड २०५० सालदेखि पूँजीबजारको विकासका लागि एक शब्द नबोली अनवरत काम गरिरहेको र आफूहरुको यो मेहेनतलाई नजरअन्दाज गरी आक्षेप लगाउने काम भएकोमा आपत्ति जनाएका छन् ।
अर्थसमितिको बैठकमा बोर्ड अध्यक्ष कार्कीले ब्रोकरहरुमा अनुशासन नभएको र पूँजीबजारको महाशत्रु पनि उनीहरु नै रहेका भन्दै कडा अभिव्यक्ति दिएका थिए । सार्वजनिक पद धारण गरेको व्यक्तिले बिनाआधार आरोप लगाएको र यो आफूहरुलाई असह्य रहेको ब्रोकरहरुको धारणा छ । कार्कीको अभिव्यक्ति र सन्कीपनले पूँजीबजारमा थप विश्वासको संकट आउनेछ । ती ब्रोकरले भने ।
पछिल्लो समय धितोपत्र बोर्ड अध्यक्ष कार्की जसरी भए पनि बैंकलाई ब्रोकर लाइसेन्स दिन हात धोएर नै लागेका र उनले बैंकलाई ब्रोकर लाइसेन्स दिंदा दुर्गम क्षेत्रमा समेत सेयर खरिदबिक्री गर्न पाइने भन्दै भ्रम सिर्जना गर्दै हिँडेका अर्का ब्रोकरको दाबी छ ।
बैंकलाई ब्रोकर लाईसेन्स दिदा इन्साईडर ट्रेडिङ हुने र ब्रोकर लाइसेन्स त्यसरी वितरण हुँदा पूँजीबजारको चाबी केही धनाढ्यहरुको हातमा पुग्ने भएकोले यो कदमबाट पछि हट्नुपर्ने कतिपय विश्लेषकहरुले निरन्तर बताउँदै आएका छन् ।
हिजोका दिनमा ब्रोकरहरु नियामक निकाय भनेपछि त्रसित हुन्थे, तर आज सार्वजनिक कार्यक्रममै खुलेर नियामकको कदमविरुद्ध खनिइरहेका छन् । यसमा बोर्ड नेतृत्वको समेत कमजोरी देखिने जानकार बताउँछन् ।
बोर्ड अध्यक्ष कार्कीसमेत खुलेर ब्रोकरहरुलाई २० लाखे मान्छेको उपनाम र होच्याउने अभिव्यक्ति दिइरहेका छन् ।
यसरी अध्यक्ष कार्की(नियामकको नेतृत्वकर्ता) र ब्रोकरहरुको घम्साघम्सी र चर्काचर्की भएको पूँजी बजारमा यो पहिलो घटना हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago