काठमाण्डौ । बैंकलाई ब्रोकर लाइसेन्स रोक्ने, ५० वटा ब्रोकरको तर्फबाट नेप्सेमा थप ब्रोकर शाखाका लागि पेश भएको निवेदन तीव्र गतिमा अगाडि बढाउने र प्रादेशिक स्तरमा ब्रोकर खोल्न पाउने व्यवस्थाको विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन नगर्ने आश्वासन आएपछि ब्रोकरहरु धितोपत्र बोर्डका अध्यक्षविरुद्ध घोषणा गरेको आन्दोलनबाट पछि हटेका छन् । 

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग रातारात सेटिङ भएसँगै शुक्रबार साँझ एकाएक स्टक ब्रोकर एशोसिएसनले विज्ञप्ति जारी गरी बोर्डको पछिल्लो विज्ञप्तिको विषयमा नरम प्रतिक्रिया दिई घोषित आन्दोलन स्थगनको संकेत दिएको हो । 

बोर्डका अध्यक्ष डा. कार्कीले ७ फागुनमा संघीय संसदको अर्थसमितिमा आफूहरुको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै ब्रोकरहरु क्रूद्ध भएका थिए । उनीहरुले बोर्ड अध्यक्ष कार्कीले आफूहरुलाई असक्षम, अपारदर्शी र अनुशासनहीन भनेको भन्दै त्यसविरुद्ध संघर्षको चेतावनीसहित विज्ञप्ति जारी गरेका थिए । 

ब्रोकरहरुको फागुन १२ गतेको दोश्रो विज्ञप्तिपछि ब्रोकरले समेत सो विषयमा दोश्रो विज्ञप्ति जारी गरी छलफल र वार्ताबाट समस्याको समाधान हुने भन्दै व्यवसायिक समस्या छलफलबाट निराकरण गर्ने भन्दै ब्रोकरहरुलाई सम्झाउने प्रयास गरेको थियो । धितोपत्र दलाल व्यवसायीहरुले गर्ने आन्दोलनबाट बजार तथा लगानीकर्तामा समेत प्रभाव पर्ने भन्दै त्यसबाट पछाडि हट्न निर्देशन दिएको थियो ।

बोर्डले दोश्रोपटक फागुन १४ गते विज्ञप्ति जारी गरेपछि पनि ब्रोकरहरु पछाडि हट्ने अवस्थामा थिएनन् । 

उनीहरुले बोर्ड अध्यक्षको राजीनामा नआएसम्म जस्तोसुकै कदम चाल्न पनि आफूहरु तयार रहेको भन्दै अर्थमन्त्रालयदेखि अन्य शक्तिकेन्द्रहरुमा समेत पहल थालेका थिए । ब्रोकरहरुले चौतर्फी आफूविरुद्ध दवाब सिर्जना गरेको बुझेका बोर्ड अध्यक्ष यही बीचमा घरविदा बसेका थिए । 

घरविदामा बसेकै बेला उनले केही हर्ताकर्ता ब्रोकरहरुलाई ‘मिठाई खान’ आफ्नै निवास बोलाएका थिए । यही क्रममा बोर्ड अध्यक्ष कार्कीसँग ब्रोकरहरुको गोप्य सहमति बनेको स्रोतले खुलाएको छ । 

‘हाम्रा मागको विषयमा अध्यक्षज्यू सकारात्मक बन्नु भएपछि हामी पनि नरम बन्ने निश्कर्षमा पुगेका हौ ।’ एक ब्रोकरले भने–‘डा. कार्कीले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा आफूले सहयोग नगर्ने र यो विषयमा आफ्नो धेरै ठूलो इन्ट्रेस्ट समेत नभएको बताउनुभयो ।’ 

ब्रोकरहरुको व्यवसायिक सुरक्षाका लागि बोर्डले आउँदा दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत डा. कार्कीले व्यक्त गरेका छन् । 

ब्रोकरसँगको छलफलमा डा. कार्कीले आफ्नो कार्यकाल सकिन ९ महिना मात्र बाँकी रहेको भन्दै सकारात्मक बनी सहयोग गरिदिन आग्रह गरेका थिए । सो क्रममा अजेण्डाहरुमा लेनदेनको सहमति भएपछि ब्रोकरहरु एकाएक घोषित आन्दोलनबाट पछाडि हटेका स्रोतहरु बताउँछन् । 

फागुन १७ गते साँझ स्टक ब्रोकर एशोसिएसनका महासचिव धर्मराज सापकोटाले एक विज्ञप्ति जारी गरी आफूहरुले फागुन ९ गते ज्ञापनपत्र पेश गरेको र बोर्डले १४ गते  जारी गरेको प्रेस विज्ञप्तिलाई आफूहरुले स्वागत गर्ने निर्णय गरेको प्रष्ट्याएका छन् ।

अध्यक्ष डा. कार्कीसँगकै सल्लाहमा ब्रोकरहरुले पूँजीबजारको विकास तथा विस्तार गरी  भरोसायोग्य बनाउन गरिनुपर्ने कार्यहरुको फेहरिस्त पुनः बोर्डमा पेश गर्नेछन् । 

एशोसिएसनले आफूहरुले पेश गर्ने वस्तुपरक सुझावहरुमा गहन छलफल गरी बोर्डले कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गरेको छ ।

एशोसिएसनले पूँजीबजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन नेपाल सरकार, नियामक लगायत सरोकारवालाहरुसँग हातेमालो गरी अगाडि बढ्न आफूहरु तयार रहेको पनि प्रष्ट्याएको छ ।