– अनन्त्य सुन्दर

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा प्रकरणमा सरकारले भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको पद रिक्त छ। सेबोनमा नयाँ अध्यक्ष नियुक्तिका लागि दरखास्त पनि आह्वान भइसकेको छ। अध्यक्ष पदका लागि दरखास्त दिने भोलि कात्तिक २५ गते अन्तिम दिन रहेको छ।

अर्थ मन्त्रालयले नयाँ अध्यक्ष चयनका मधु मरासिनी, विश्व पौडेल साथै प्राडा नारायणप्रसाद पौडेलको समिति बनाएको छ। सोही समितिले सेबान अध्यक्षमा आवेदन परेकामध्ये ३ जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। सरकारले ती ३ जनामध्ये एकजनालाई सेबोनको अध्यक्षमा नियुक्ति गर्नेछ। 

अहिले सेबोनले नेतृत्व अब कसले गर्छ भन्ने आमलगानीकर्तामा चासोको विषय बनेको छ। धितोपत्र बजार नियमन गर्ने सेबोनको नेतृत्व गर्नेमा डेरिभेटिभ साथै कमोडिटिज मार्केट सञ्चालन गर्ने जिम्मेवारी पनि आउने भएकाले सेबोनको नेतृत्व थप चासोको विषय बनेको छ। त्यसका साथै सेबोन अध्यक्षमा नयाँ ब्रोकर संख्या र नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्ने कि नगर्ने भन्ने जिम्मेवारी पनि थपिनेछ। 

सेबोनको नेतृत्व गरिसकेका डा रेवतबहादुर कार्की सेबोनमा कुनै व्यक्तिको स्वार्थभन्दा पनि समग्र बजारको विकासको स्वार्थलाई मध्यनजर गरेर काम गर्ने नेतृत्व आउनुपर्ने बताउँछन्। ‘बजारमा अहिले धेरै विकासहरु भएका छन्। तर विकास गर्ने सकिने ठाउँहरु पनि उत्तिकै छन्। सेबोनको नेतृत्व गर्नेले समग्र पुँजीबजार सुधारका लागि कानुनी संरचना बलियो बनाउनुका साथै कम लगानीमा लगानी गर्न सकिने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि ब्रोकर कमिसन घटाउनुका साथै सेबोन, नेप्सेलगायत विभिन्न निकायहरुमा शुल्क न्यूनीकरण गर्न अत्यावश्यक छ।’

सेबोन अहिले मुलुकको नै सबैभन्दा ठूलो नियामक निकाय रहेको कार्की बताउँछन्। ‘अहिले सेबोनको नियमनमा ब्रोकर, आस्बा, क्रेडिट रेटिङ कम्पनीलगायत अन्य संस्थाहरू गरी झन्डै ६०० संस्था छन्’, उनले भने, ‘त्यसैले सेबोन अध्यक्षले सेबानका कर्मचारीहरुको क्षमता वृद्धि गर्दै दक्ष बनाउनुपर्छ।’

बैंक तथा तिनका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने भन्दा ठूलो अपराध नै गर्न आटेको जसरी हेरिने गरेको कार्की बताउँछन्। ‘बैंकहरुलाई ब्रोकर लाइसेन्स दिँदा लगानीकर्तालाई जसले राम्रो सेवा दिन्छ, त्यस संस्थामा नै सेवा लिन जान्छन्, जसले गर्दा स्वस्थ प्रतिस्पर्धा हुँदै समग्र बजारको हित गर्छ’, कार्की भन्छन्, ‘म बोर्डमा हुँदा हामीले पहल गरेको थियाँै। तर त्यस बेला अर्थले त्यति महत्व दिएन।’

कार्कीका अनुसार नीतिगत हिसाबले दुईवटा स्टक एक्सचेन्जहरु सञ्चालन गर्ने भनिएको छ। ‘दुईवटा स्टक एक्सचेन्ज सञ्चालन गर्दा स्टक एक्सचेन्जबीच नै प्रतिस्पर्धा हुने भएकाले लगानीकर्ताहरुलाई कष्ट पनि कम हुन्छ’, कार्की भन्छन्, ‘केही सीमित व्यक्तिहरुको स्वार्थ हाबी हुँदा नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन सकेको छैन।’

स्टक एक्सचेन्ज सरकारी स्वामित्वमा भएकाले राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत अन्य निकायहरुले गर्दा बजारमा चलखेल बढिरहेको कार्की बताउँछन्। ‘त्यसैले बजारमा चलखेल न्यूनीकरण गर्नुका साथै पुँजी बजारलाई स्थिर र स्वस्थ बनाउन नयाँ नेतृत्वले नयाँ स्टक एक्सचेन्ज सञ्चालन गरिनुपर्छ’, उनले भने। 

अहिलेको स्टक एक्सचेन्जमा सुधार गर्दा पनि सुधार हुन् नसक्ने संरचनागत समस्याहरु धेरै रहेको कार्कीको भनाइ छ। ‘त्यसैले नयाँ स्टक एक्सचेन्ज अत्यावश्यक छ’, कार्की भन्छन्, ‘अहिले लगानीकर्ताहरु बजार सुधार साथै ब्रोकर कमिसन घटाउनका लागि पनि आन्दोलित हुनुपर्ने अवस्था छ। नयाँ स्टक एक्सचेन्ज सञ्चालन भएसँगै स्वतः प्रतिस्पर्धा बढ्ने भएकाले लगानीकर्ताहरुले कम लगानीमा कारोबार गर्न सक्छन्। तर केही व्यक्तिहरुको स्वार्थ हाबी भएसँगै अर्थले सरकारी स्टक एक्सचेन्ज खतम हुन्छ भन्दै सञ्चालनमा ल्याएको छैन। सरकार कै भिजन नभएको देखिन्छ। त्यसैले नव–नियुक्त सेबोन अध्यक्षले यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।’

ओपन प्राइसिङ सिस्टम आफू हुँदा नै आएको कार्कीको भनाइ छ। ‘तर अहिले नियामक निकायहरुमा भएका नेतृत्वहरुको स्वार्थले गर्दा जन्मन नपाउँदै गर्वमा नै पतन भयो’, उनले भने, ‘त्यसैले सेबोनको नेतृत्व भिजनरीका साथै इमानदार व्यक्तिले गर्नुपर्छ।’