काठमाण्डौ । सेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १६.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८३३.६९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेर ३५२.३७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ८२ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार निर्मल रानाभाट समग्र अर्थतन्त्र सुस्ताउँदा सेयर बजार पनि उकालो लाग्न नसकेको बताउँछन्। तेस्रो त्रैमासमा लघुवित्त संस्थाको खराब वित्तीय प्रदर्शनले बजारमा असर गरेको उनको भनाइ छ। 

सरकारकाले आउने बजेटमा पुँजीबजारलाई उकास्ने खालको नीति ल्याएमा मात्रै बजार माथिल्लो लय समात्न सक्ने रानाभाटले बताए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.४४ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.८९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५३ प्रतिशत, विकास बैंक समूहमा ०.४० प्रतिशत, वित्त समूहमा १.१९ प्रतिशत, लगानी समूहमा ०.५० प्रतिशत, जीवन बीमा समूहमा १.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७० प्रतिशत, लघुवित्त समूहमा ०.८२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२५ प्रतिशत, अन्य समूहमा ०.६४ प्रतिशत र व्यापार समूहमा ०.६१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार २ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक ३ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमाल दोलखा हाइड्रोपावरको २ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २ करोड २० लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको २ करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ९७ लाख रुपैयाँ, घलेम्दी हाइड्रोपावरको १ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ६३ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको १ करोड ५४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड ४० लाख रुपैयाँ र अरुण काबेली पावरको १ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन इस्टर्न हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट नै लागेको छ।