काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २६.१४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१००.३४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले घटेर ३९९.६६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल आजको बजार घटाइले ब्रोकरको सेटलमेन्ट अझै बाँकी रहेको हुन सक्ने अनुमान गर्न सकिने बताउँछन्। ‘बीमा कम्पनीहरुको पछिल्लो चरणमा संस्थापकहरु सर्वसाधारणमा परिणत भएका छन्’, उनले भने, ‘केही संस्थापक सेयरधनीहरुले तिनै सर्वसाधारण सेयरमा परिणत भएका सेयरधनीहरु बेच्न पनि बजारमा दबाब परेको हुन सक्छ।’

अझै पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको बजारको चालले प्रस्ट हुने रिजालको भनाइ छ। ‘हिजोआजको बजार घटाइ लगानीकर्ताको मौद्रिक नीतिमा असन्तुष्टि पनि हुन सक्छ’, उनले भने। 

अर्का बजार जानकार नयन बास्तोला हिजोआजको बजार घटाइलाई अस्वाभाविक मान्छन्। ‘किनकि बजार लगातार ५ दिनदेखि घटिरहेको छ’, उनले भने, ‘मौद्रिक नीति लगानीकर्ताले नरुचाएको पनि हुन सक्छ।’

बजारको पछिल्लो अवस्था हेर्दा लगानीकर्ताहरुले मौद्रिक नीति अझै लचिलो खोजेको प्रस्ट हुने पनि बास्तोलाको भनाइ छ। ‘अब लाभांश घोषणाको सिजन पनि सुरु हुने भएकोले लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था भने छैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह ०.३२ प्रतिशतले उकालो लागेको छ। 

आज वित्त समूह सर्वाधिक २.३२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह २.०८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा १.४८ प्रतिशत, जलविद्युत समूहमा १.४३ प्रतिशत, लगानी समूहमा ०.८१ प्रतिशत, जीवन बीमा समूहमा १.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५७ प्रतिशत, लघुवित्त समूहमा १.६४ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८६ प्रतिशत, अन्य समूहमा १.८१ प्रतिशत र व्यापार समूहमा २.०७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका ६८ लाख ६० हजार ४२ कित्ता सेयर २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२८ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १४ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ११ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेस्ट बैंकको १० करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ९५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ८३ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ४६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ९३ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ४ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज पिपुल्स पावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

यो दिन मनकामना स्मार्ट लघुवित्त र अभियान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै लघुवित्तको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।