काठमाण्डौ । केयरगिभरका रुपमा रोजगारीका लागि इजरायल जानेहरुको अंग्रेजी भाषाको लिखित परीक्षा भदौ २८ गते हुने भएको छ। 

इजरायलमा रोजगारीका लागि जान इच्छुकहरुले गत साउन १२ गतेदेखि साउन ३२ गतेसम्म वैदेशिक रोजगार विभागमा आवेदन दिएका थिए। विभागबाट स्वीकृत भएका आवेदकहरुमात्र अंग्रेजी भाषाको लिखित परीक्षामा सहभागी हुन पाउने विभागले जनाएको छ। 

परीक्षा काठमाण्डौका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुनेछ। परीक्षा केन्द्र अनलाइनमार्फत प्राप्त हुने प्रवेशपत्रमा उल्लेख गरिनुका साथै विभागको वेबसाइट https://dofe.gov.np मा समेत सोसम्बन्धी विवरण प्रकाशन गरिने विभागले जनाएको छ। 

विभागका अनुसार भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ। भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ।

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामवाली तयार गर्ने विभागले जनाएको छ।

तयार पारिएको नामावली विभागले आफ्नो वेबसाइटमा प्रकाशन गर्नुका साथै इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) लाई पठाउनेछ। विभागले पठाएको नामावलीबाट इजरायलको पीआईबीएले नेपाली कामदार छनोट गर्नेछ र रोजगारदाताबीच रोजगारको सम्झौता गराउनेछ। 

त्यसपछि मात्र नेपाली कामदार इजरायल जान पाउनेछन्। 

इजरायल जाँदा भिसा, टिकटलगायत खर्च करिब १ लाख ६५ हजार लाग्ने अनुमान विभागको छ। उक्त शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने छ। 

यसरी छनोट भई जाने नेपाली कामदारको भिसा अवधि ५ वर्षको हुनेछ। मासिक कमाइ १ हजार ६०० अमेरिकी डलर हुने बताइएको छ।