काठमाण्डौ । लामो समयपछि कारोबार रकम ३ अर्ब रुपैयाँ नजिक पुगे पनि नेप्से परिसूचकमा भने आज सोमबार दोहोरो अंकले गिरावट आएको छ।
यो साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४ प्रतिशत र ५ प्रतिशत सर्किट ब्रेक लागी कारोबार क्रमशः २० र ४० मिनेटसम्म स्थगित भएको थियो। लकडाउनअघिको नेप्से परिसूचक १६०० विन्दुलाई पछ्याउने उत्कण्ठामा दौडिएको नेप्से परिसूचक दोस्रो सर्किट लागेपछि भने उकालो र ओरालोको पौठेजोरीका बीच निकै संघर्षपूर्ण रह्यो।
अघिल्लो साताभरि निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक यो साताको कारोबारको दोस्रो दिन आइपुग्दा भने दोहोरो अंकले करेक्सन आएको छ। बजार बढ्दै जाँदा लगानीकर्ताले आफूसँग भएका सेयरमूल्यमा १० देखि २० प्रतिशत मुनाफा बुक गर्दासमेत बढ्दो बजारमा अत्याधिक सेयरको आपूर्ति आउँदा मूल्य घट्छ। यो सामान्य सिद्धान्त हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाले लगानीकर्तामा मनोबल बढे पनि सामान्य करेक्सन आउँदै जानु बजारको लय थप बलियो बन्ने विश्लेषक बताउँछन्।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति र हिजो नेपाल धितोपत्र बोर्डद्वारा जारी नीति तथा कार्यक्रमले उत्साहित बनेका लगानीकर्ता आज भने खिन्न भए। नेप्से परिसूचक दोहोरो अंकले गिरावट आए पनि कारोबार रकममा भने उछाल आएको छ।
सेयर बजार साँच्चै अनिश्चिताको बजार हो। ‘यस्तै अस्वभाविक उत्तारचढावले नै बजारको सही र यथार्थ परिभाषा गर्दछ’, एक ब्रोकरले बिजशालासँग भने, ‘ती अनिश्चिततामा जोखिम मोलेर लगानी गर्ने व्यक्तिले नै सेयर बजारमा कमाउँछ।’
लकडाउनपछि गत असार १५ गतेपछि खुलेको धितोपत्र बजारमा दैनिक कारोबार रकम औसतमा १ अर्ब हाराहारी भइरहेका बेला आज कारोबार रकम २ अर्ब ८० करोड रुपौयाँ हाराहारी हुनुले बजार थप मजबुत हुँदै जाने जानकारहरु बताउँछन्।
आज नेप्से परिसूचकमा १४.०९ अंकको गिरावटसँगै १४६४.९४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८४ अंकको गिरवाटसँगै ३०९.६० को विन्दुमा सीमित बनेको छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो।
यो दिन विकास बैंकमा सबैभन्दा धेरै १६.९३ अंकको बढोत्तरी देखियो। यस्तै बैंकिङ समूहमा ३.१४ अंक, वित्त समूहमा १.१५ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको वृद्धि भयो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८१ कम्पनीका ७० लाख १ हजार २५८ कित्ता सेयर २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ रुपैयाँमा कारोबार भयो।
यो दिन एनएमबी बैंकको सर्वाधिक २० करोड १४ रुपैयाँ बढीको कारोबार भयो।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ६३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १७ करोड ४८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५५ लाख रुपैयाँ, नबिल बैंकको १० करोड ४३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ८ करोड ९६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ८ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडको ७ करोड ३२ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको ७ करोड ३० लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको ७ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज तीन कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। युनाइटेड फाइनान्स, एनआईसी एसिया लघुवित्त र स्पर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन हिमालय ऊर्जा विकास कम्पनी र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरमा पनि ९ प्रतिशतको हाराहारीमा उछाल देखियो।
आज दुई कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो। गुराँस लघुवित्त र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नोगेटिभ सर्किट लागेको हो।
यसैगरी शिवम सिमेन्ट र फवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19