काठमाण्डौ । पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु घरभित्रै सीमित बन्न पुगेका छन् । 

यो बेलामा प्रत्येक दिन कसरी कटाउने भन्ने धेरैमा अन्यौल देखिन्छ । लकडाउनको अवधिभर आफूलाई कसरी फिट राख्ने ? कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? भन्ने विषय समेत महत्वपूर्ण हुने चिकित्सकहरु बताउँछन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको भनाईमा लामो लकडाउनका कारण मानिसहरुको मानसिक स्वास्थ्यमा समेत असर पर्ने संभावना बढिरहेको छ । यस्तो बेलामा आफूलाई कसरी फ्रेस र फिट राख्ने त ? डा. देवकोटाले सर्वसाधारणलाई केही टिप्स भनेका छन् । 

आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन पुनः लकडाउन जारी गरिएको प्रष्टीकरण दिंदै डा. देवकोटाले यस्तो बेलामा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन र स्वस्थकर जीवन यापनका लागि घरमै बसेर गर्न सकिने काम तथा अन्य गतिविधि गर्न सुझाएका छन् । 

फोन, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी कार्यालय सम्बन्धी घरबाटै काम गर्न सकिने समेत उनको भनाई छ । 

यो अवधिमा सिर्जनशील क्रियाकलाप गर्न, सांगीतिक क्रियाकलापमा सहभागी हुन, लेखपढमा ध्यान दिन, घरभित्र खेल्न सकिने खेल खेल्न, चित्रकला जस्ता सिर्जनशील क्रियाकलापमा समेत सहभागी हुन डा. देवकोटाले आग्रह गरेका छन् । 

यस्तै, शारिरीक तथा मानसिक स्वास्थ्यका लागि गरिने योग, ध्यान र व्यायामजस्ता क्रियाकलापलाई निरन्तर राख्न, घरमै बसेर स्वास्थ्यलाभ गर्न समेत सुझाएका छन् । 

डा. देवकोटाले यो समयमा आफ्ना र आफ्नो परिवारको सदस्यको क्षमता अभिवृद्धि गर्न, पारिवारिक मेलमिलापको भर्चुअल माध्यमबाट गर्ने अवसरको रुपमा समेत लिइदिन उनले आग्रह गरेका छन् ।