-भरत रानाभाट
लकडाउनसँगै बन्द रहेको बजार कहिले खुल्छ र खुलेपछि के होला भन्ने आम चासोको विषय बनेको छ। एकातिर मालपोत कार्यालय तथा सुनचाँदी पसल समेत खुलिसकेको अवस्थामा पुँजीबजार अझै बन्द हुँदा बजारको विश्वसनीयतामाथि प्रश्नचिन्ह उब्जिएको छ । अर्कोतिर राज्यले दैनिक लाखौ राजस्व गुमाइरहेको छ । 

यसैगरी, यसमा आश्रिम बोर्ड स्वयम्, नेप्से, सिडिएससि, मर्चेन्ट बैकरहरु, डि पि, तथा हामी ब्रोकरहरुले आफनो आम्दानी गुमाउनु परेको छ भने लगानीकर्ताहरु खरिदबिक्री गर्नबाट बञ्चित हुनु परेको छ । बजार बन्द गर्नुपर्ने अवस्था आउनु आफैंमा दुःखदायी हो र  यसमा हामी सबैले आफ्नो कमजोरी रहेको स्वीकार गर्नुपर्छ, यसलाई पाठको रुपमा लिएर धितोपत्रको दोस्रो बजारमा आगामी दिनमा यस्तो अवस्था सिर्जना हुन नदिनका लागि एकअर्कामा दोषारोपण गर्नु भन्दा पनि आ–आफ्नो दायीत्वबोध गर्दै अगाडि बढ्नुपर्छ । 

बजारलाई चलायमान बनाउन तथा अस्वभाविक हुने उतार चढावलाई रोक्न बजारमा विभिन्न औजारहरु हुनुपर्नेमा हाम्रो बजारमा हाल त्यस्ता औजारहरुको अभावका कारण यसलाई नीति तथा नियमले कन्ट्रोल गर्नुपर्ने आवश्यक्ता छ, यसमा समयअनुसार बोर्डले नीति नियम बनाई तथा सम्बन्धित पक्षसँग समन्वय गरी बजार सञ्चालन गर्नुपर्ने देखिन्छ । 

लकडाउनका बीचमा पनि २ दिन खुलेको बजारले डिमान्ड साईड कमजोर देखिएको छ, बजेटबाट आफूले दिएका सुझावको सम्वोधन होला कि भनी आशामा बसेका लगानीकर्ता तथा हामी ब्रोकरहरm बजेटबाट केही निराश छौ, तथापि बजारमा तत्कालै गर्न सकिने कुराहरुमा धितोपत्र बोर्डले समन्वय गर्नेछ भन्ने विश्वास गर्दछु  । जस्तो अर्थ मन्त्रालयसँग समन्वय गरी ५ प्रतिशत अन्तिम करको अन्यौलता हटाउने, राष्ट्रबैकबाट बैकले दिएको मार्जिन लेण्डिङको सीमा बढाउने तथा नविकरण र व्याज तिर्ने समय बढाउने, सिआईटि लगायतका कम्पनीले दर्ता गरेको मार्केट डिलरले तत्काल काम गर्ने अवस्थाको सिर्जना गर्ने, अनलाइन सेटलमेन्टका लागि बैकसँग इन्टीग्रेसन गर्ने कार्य भईरहे पनि नेप्सेले एपीआई दिई ब्रोकर ब्याक अफि स सिस्टम समेत यही लकडाउनको बीचमा इन्टीग्रेसन गर्ने कार्य सकेर बजार खुल्दा अनलाईनबाटै ट्रेडिङ तथा सेटलमेन्टको काम गर्ने बातावरण बनाउन सकिने देखिन्छ, र त्यो आजको आवश्यकता पनि हो ।

ब्रोकरहरुले मार्जिन लेण्डिङ संचालन गर्दा अप्ठ्यारो परेका केही बुँदा तत्काल संसोधन गरी कार्यान्वयनमा ल्याउने, हाल दोस्रो बजारमा लगानी गर्न ईच्छुक संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने तथा लगानी गर्ने सहज बातावरण बनाउने तथा आउँदै गरेको मनिटरी पोलिसीमा गर्भनर ज्यूले पनि बजारका लागि गर्न सकिने नीतिगत व्यवस्थाका लागि राष्ट्रबैक खुला रहेको बताइसक्नु भएको छ । त्यसकारण राष्ट्र बैकसँग समन्वय गरी बजारका समस्याहरु तत्काल समाधान गर्न सकिने देखिन्छ ।

यसको अलावा बजारको विस्तारका लागि अध्यक्षज्यूले राख्नु भएको मन्तव्यमा उल्लेख भए अनु्सार आधिकारीक प्रतिनिधि(सर्टिफाइड एजेन्ट)को व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउने, ब्रोकर कम्पनीहरु लगायत अन्य इच्छुक संस्थालाई धितोपत्र डिलरको रुपमा काम गर्न दिने व्यवस्था सहज बनाई अगाडि बढाउने, एनआरएनलाई दोस्रो बजारमा लगानी गर्ने विषयमा ठोस निर्णय गर्ने (नीति नियम बनाउनु छ भने अविलम्बगर्ने ), मन्त्रीज्यूबाट संकेत भएअनुसारको इन्ट्राडे टे«ेडिङलाई तत्काल कार्यान्वयनमा ल्याउने, अक्सन मार्केटलाई तत्काल सुरुगर्ने, ब्रोकर कम्पनीहरुलाई पोर्टफोलियो म्यानेजमेन्ट एड्भाइजरी सर्भिस जस्ता सेवाहरु दिने व्यवस्था गर्ने, क्रणपत्रको दोस्रो बजारलाई कारोवार योग्य बनाई व्यवस्थित बनाउनेतर्फ अविलम्ब लाग्नुपर्ने देखिन्छ । यसमा बोर्ड तदारुकताका साथ लागिरहेकै छ भन्ने मलाई लाग्छ । 

कोभिड १९ का कारणले भएको लकडाउनको प्रभाव अन्य क्षेत्रमा जस्तो यस क्षेत्रमा पनि देखिएको छ । यस क्षेत्रका व्यवसायीले राहातकोे रुपमा कुनै नगद छुट तथा सहुलियत माग गरेको मलाई लाग्दैन । नीतिगत व्यवस्था गरी लगानीकर्ताको मनोवल उच्च राख्दा मात्र पुग्ने अवस्थामा समेत सरकारको प्राथमिकतामा नपर्नु दुखद कुरा हो । सरकार, राष्ट्रबैंक र बोर्डले यस कुराको मनन गरी आ–आफ्नो ठाउँबाट त्यो भूमिका खेली आउँदा सिदनमा बजारको अपेक्षा सम्बोधन हुने आशा गर्दछु। 

बोर्ड हामी सबैको अभिभावक हो,  बजारको विकास, यस मातहतका संस्थाको सस्टेनाबिलिटीको ग्यारेण्टी गर्दै आगामी दिनमा कहिले पनि बजार बन्द हुनु नपर्ने प्रविधि र औजारहरु बजारले प्राप्त गरोस् र यसमा बोर्ड खरो रुपमा उत्रन सकोस् भन्ने काम गर्दछु। आगामी दिनमा बोर्डको प्रभावकारिता, गरिमा र महत्वले शिखर चुमोस् भनी शुभकामना पनि दिन्छु। 

(आइतबार धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष रानाभाटद्वारा व्यक्त विचारको सम्पादित अंश)