– धर्म मलासी

काठमाण्डौ । विश्व महामारी कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएको छ। त्यसको प्रत्यक्ष असर नेपाली सुन बजारमा पनि परिरहेको छ।

लकडाउनअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस १ हजार ५०० डलर रहेको सुनको मूल्य अहिले आएर प्रतिऔँस १ हजार ९३१ डलर पुगेको छ। विश्लेषकहरुले यो मूल्य अबको एक–दुई सातामै २ हजार डलर नाघ्ने अनुमान लगाएका छन्। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा समेत सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। कोरोना महामारीअघि प्रतितोला ७७ हजार रहेको नेपाली बजारमा अहिले सुनको मूल्य ९७ हजार पार गरिसकेको छ। 

सुनको मूल्यमा अचाक्ली वृद्धि भएपछि नेपाली बजारमा सुनको माग व्यापक रुपमा घटेको छ। ‘अहिले नेपाली बजारमा सुनको माग लगभग शून्यप्रायः छ’, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले भने, ‘लकडाउन अघिसम्म थोरै भए पनि सुनको माग भइरहेको थियो तर लकडाउनपछि एकाएक माग शून्यमा झरेको छ।’

कोराना महामारीका कारण खस्किएको अर्थतन्त्रका कारण आम नेपाली जनताको आम्दानीमा आएको गिरावट र सुनको मूल्यमा समेत वृद्धि भएपछि सुन खरिद गर्ने क्षमतामा व्यापक कमी आएको छ। नेपालमा लकडाउन लागू हुनुअघि दैनिक २५ किलो सुन बिक्री हुँदै आएकोमा अहिले यो झरेर लगभग शून्यमा पुगेको छ। 

उसो त सुनको मूल्य वृद्धि हुने सिलसिला गत वर्षदेखि नै देखिन थालेको थियो। मूल्यवृद्धिका कारण गत वर्षको साउन, असोज र पुस महिनामा सुनको माग २५ प्रतिशतले घटेको थियो। माग घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघको सुझावबमोजिम राष्ट्र बैंकले तीन महिना सुन आयात रोकेको थियो। शाक्य भन्छन्, ‘आर्थिक वर्ष २०७६/७७ मा जम्मा १३ अर्ब डलरमात्रको सुनचाँदीको कारोबार भएको छ। जब कि अघिल्लो आर्थिक वर्ष अर्थात २०७५/७६ मा ३२ अर्ब डलरको कारोबार भएको थियो। यस हिसाबले अहिले सुनको कारोबार झन्डै ६० प्रतिशतभन्दा धेरैले घटेको छ।”  

लकडाउनपछि नेपाल राष्ट्र बैंकले सुन आयात गरेको छैन। अहिले नेपाली बैंकहरुमा करिब ३३० किलो सुन मौजाद रहेको छ। बजारमा माग नभएपछि यो सुन त्यत्तिकै बैंकमा थुप्रिरहेको छ। 

शाक्यका अनुसार करिब २२ हजार सुनचाँदी व्यवसायी रहेका यो व्यवसायमा २ लाख मानिसले रोजगारी पाएका छन्। यसमध्ये पनि ७५ प्रतिशत विदेशी अर्थात भारतीय कामदार छन्। 

कोरोनाका कारण अधिकांश कालीगढ र कामदारहरु घर फर्के पनि नेपालमै बसेका र अन्य नेपाली कामदारलाई तलब खुवाउन र पसलको भाडा तिर्नसमेत हम्मेहम्मे परिररहेको शाक्य बताउँछन्। ‘अधिकांश व्यवसायीले बैंकको चर्काे ब्याजदरमा ऋण लिएर व्यवसाय गरिरहेकाछ छन्। अहिले व्यवसायीहरुलाई बैंकको ऋण तिर्ने कि सटर भाडा र कर्मचारीलाई तलब खुवाउने भन्ने चिन्ताले पिरोलिरहेको छ’, शाक्य गुनासो पोख्दै भन्छन्, ‘यो समस्याको समाधानका लागि उद्योग वाणिज्य महासंघमार्फत हामीले सरकारको ध्यानाकर्षण गर्न खोजिरहेका छौँ।’ 

जेठ महिनामा आएको बजेट र अहिले भर्खरै आएको मौद्रिक नीतिमा सुनचाँदी व्यवसायीको समस्यालाई सम्बोधन गर्ने गरी नीतिनियम र योजनाहरु नआएको शाक्य बताउँछन्। ‘उद्योग, कृषि र अन्य क्षेत्रका लागि पुनर्कर्जाका योजनाहरु आए तर हाम्रो व्यवसायका लागि भने त्यस्तो कुनै पनि योजना आएनन्। जब कि मौद्रिक नीतिअघि नै हामीले यो विषय समेटिनुपर्छ भन्दै आवाज उठाइरहेका थियौँ।’

गोल्ड लोनको व्यवस्था भएको तर त्यसमा पनि १४–१५ प्रतिशतको चर्काे ब्याजदर रहेको शाक्य बताउँछन्। 

खरिदकर्ता घटे पनि अहिले नेपाली बजारमा सुन बिक्री गर्ने ग्राहकको संख्या भने वृद्धि भएको छ। शाक्यले भने, ‘विगत १५ दिनदेखि भने सुन बिक्री गर्न आउनेको संख्यमा व्यापक वृद्धि देखिएको छ।’ 

सुन बिक्री गर्न आउने ग्राहकको संख्यामा वृद्धि भए पनि पुँजीे अभावका कारण व्यवसायीहरु किन्न नसक्ने अवस्थामा पुगेका छन्। ‘कोरोनाले देशका सबै क्षेत्र प्रभावित बनेका छन्, यसबाट सुनचाँदी व्यवसायीहरु पनि अछुतो छैनन्’, शाक्यले भने, ‘अहिलेको अवस्थामा सबै सुनचाँदी व्यवसायीको उद्देश्य धैर्यधारण गरी नाफा खोज्न लाग्नुभन्दा पनि आफूलाई टिकाइराख्ने हुनुपर्छ।’