-अर्जुन तिमिल्सिना
संसार कोभिड १९ को प्रकोपले ग्रस्त छ । प्राय अर्थतन्त्रका सूचक नेगेटिभ छन् । यस्तो बेलामा सेयर बजारमा के होला ? सबैको मनमा एउटै जिज्ञासाले घर गरेको छ-'यस्तो बेला बजार कसरी माथि जाला ?सबै ठप्पै छ, मान्छेहरुको आयस्रोत सुकेको छ ।'
बजार अब कता जान्छ भन्ने विषयको निक्र्यौलमा पुग्नुअघि एकपटक पछाडि फर्केर हेरौं । यो अवस्था कसरी एकैपटक आयो ? मानौ हामी एउटा कोठामा पस्यौं, तर त्यहाँ चलिराखेको फ्यान एकाएक बन्द भयो । हामीमा उकुसमुकुस हुन्छ, अहिले भएको पनि त्यही हो । अहिले खास भएको पनि अर्थतन्त्रको फ्यान एकैपटक बन्द भएको हो ।
केही गरी कोभिड १९ को खोप बिकास भयो भने अर्थतन्त्रको फ्यान पहिला जसरी घुमेको थियो, त्यसरी नै घुम्नेछ । गति केही ढिलो भए पनि त्यसले उखरमाउलो गर्मीमा प्रताडितलाई शान्त पारे जसरी थोरै भए पनि शितल हावा पक्कै फाल्नेछ ।
अहिले संसारमा धेरै मान्छे बेरोजगार भएका छन । हाम्रो जस्तो रेमिट्यान्समा आधारित अर्थतन्त्रमा प्रत्यक्ष असर पक्कै पर्छ, तर अहिले आर्को पाटो मान्छे र राज्यको खर्च पनि थोरै भएको छ । डिजेल पेट्रोलमा मात्रै बाहिर जाने अरबौं रुपैयाँ बचत भएको छ ।
बिदेशी पर्यटक आएर ५६ अर्ब आउन्थ्यो भने हामी घुमेर ५० अर्ब सक्थ्यौं । बिद्यार्थीले विदेशमा पढाईको नाममा लाने पैसाको कुनै हिसाबकिताब नै थिएन । त्यसैले त अहिले पनि बैंकहरुमा एक खर्ब बराबरको अधिक तरलता छ ।
बिदेशबाट हामीले अनुमान गरेभन्दा थोरै मान्छे फर्किन पनि सक्छन् । त्यसैले अहिले नै बन्द कोठा भित्र बसेर मनोबैज्ञानिक रुपले सबै सकियो, आफूमाथिको सिलिङ खस्यो भनेर ठान्नु धेरै नै हतारो हुनसक्छ ।
यो संकट हामीलाई मात्र होइन, संसारलाई नै परेको हो । कोभिड १९ को असर बढ्दै जाँदा अमेरिकाको डाउजोन्स २५ हजारबाट घटेर १९ हजारसम्म आयो र फेरि फर्केर त्यही पुगेको छ ।
अब रहयो नेपालको बजारको कुरा । संसारमा परेको असर नेपालमा पनि नपर्ने कुरै भएन । बजार केही समय पक्कै घट्छ, तर अस्ती दुई दिन जस्तो गाइजात्रा हुन्न । किनभने ती दुई दिन कृत्रिम तरिकाले लाखौंको सेलिङ प्रेसर खडा गर्ने काम गरियो । लाखौं बाइङ र सेलिङ देखिन्छ भनेको त्यो कृतिम नै हो । हामीले बाइङ आउँदा कृत्रिम नहुने, तर सेलिङ आउँदा मात्र कृत्रिम भन्नुहुन्न । कृत्रिमलाई कृत्रिम नै भन्ने हो ।
यसमा धितोपत्र बोर्ड र नेप्से चनाखो हुनैपर्छ र हरेक परिस्थितिमा बजारको सुक्ष्म निगरानी गरिन आवश्यक छ । यस्तोबेला धेरै चलखेल हुन सक्छ ।
सबै लगानीकर्ताको पहुँच नभई बजार खोलिएकोले हामीले बजार बन्द हुनुपर्छ भन्यौं र भयो पनि । अब सबैलाई सहज नहुने अवस्था नदेखिएसम्म बजार खोल्ने हतारो पनि गर्नुहुन्न ।
छिट्टै बजेट आउँदै छ । बजेट्ले धेरै समेट्नुपर्ने देखिन्छ । यतिबेला देशको अर्थतन्त्र जोगाउनु मूल दायीत्व पनि छ ।
सेयर बजार पनि अर्थतन्त्रको प्रमुख सूचक हो । यसलाई जोगाउने प्रमुख दायीत्व सरकारको हो । लगानीकर्ताको हितमा बजेट आउनुपर्छ। धेरैजसो लगानीकर्ताले सेयर धितो कर्जा लिने हुँदा धितो कर्जामा नै सहुलियत दिनुपर्छ ।
अहिले लगानीकर्ताले भन्दै आएको कर्जाको सीमा ८० प्रतिशत हुनुपर्छ र यो र आगामी आर्थिक बर्षमा मार्जिन कल गर्नै हुन्न । यदि मार्जिन कल गर्ने हो भने बजार ध्वस्तै हुन्छ ।
बजारमा पाहिला भने जसरी संस्थागत लगानीकर्ता भित्र्याउनु पर्छ । एनआरएनएलाई लगानी गर्न बजेट र मौद्रिक नीतिमा व्यवस्था गरिनुपर्छ ।
शेयरको मूल्य जहिले पनि लगानीकर्ताको मनोबल वा मनोविज्ञानसँग जोडिएको हुन्छ । ११०० बाट उठेको बजार १६ सयसम्म पुगेर कोभिड १९ को असर विश्वव्यापी बन्न थालेपछि घट्दै गएको हो । बजारले फेरि त्यही वन्दूमा बलियो टेवा पाउने देखिन्छ ।
नेप्से परिसूचक १५०० भन्दा माथि हुँदा बेचेका र नयाँ लगानीकर्ता बजारमा पुनः प्रवेश गर्ने देखिन्छ । बजार तीनपटकभन्दा बढी एघार सयरबाट फर्केको र अहिले पनि त्यस्तै संभावना देखिन्छ ।
बजार सधैं घटेको घट्यै पनि गर्दैन र बढेको बढ्यै पनि गर्दैन । आउने बजेटमा सरकारले बिशेष सम्बोधन गर्नु पर्ने हुन्छ । अब शेयर बजारमा कुनै एउटा संस्था मात्र सक्रिय भएर बजार सवल हुनसक्दैन । बजारसँग सरोकार राख्ने धितोपत्र बोर्ड, नेप्से, ब्रोकेर, लगानीकर्ता समूह र अर्थमन्त्रालयको सहकार्य र समन्वयमा काम गरिनुपर्छ ।
यस्तै, बजारलाई उर्जा दिने कार्यक्रम अबको बजेटमा समावेश गरिन आवश्यक छ।
मुख्य काम भनेको हाल चल्दै आएको लङ्गडो अनलाइन कारोबार प्रणालीलाई पूर्ण बैंक इन्ट्रिग्रेसनमार्फत सबैलाई अनिबार्य रुपमा अनलाइनबाट सेयर किनबेच गर्ने नियम लगाउनुपर्छ ।
अघि नै भनिसकियो, शेयर बजार भनेको र शेयरको मूल्य भनेको लगानीकर्ताको मनोबिज्ञान हो । अहिले लगानीकर्ता मनोवैज्ञानिक रुपमा धेरै नै कमजोर भएको अवस्था छ । यस्तो बेला सरकार रसरोकारवालाले जे गर्दा राम्रो हुन्छ, त्यही गर्ने हो । पहिलो डर त कोभिड १९ को हो जुन हाम्रो बसमा छैन, तर जुन हाम्रो हातमा छ त्यो काम चाहि बेलैमा गर्न आवश्यक देखिन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19