लगानीकर्ताको मनोविज्ञान र बजारले लिने दिशा अनुमान गर्न त्यति सजिलो काम होइन। अहिले धेरैले अनुमान गरेभन्दा फरक बाटोमा सेयर बजार चलेको छ।

विश्व नै कोभिड–१९ ले ग्रस्त भएको अवस्थामा ठूलै आर्थिक समस्या आउने हो कि भन्ने चिन्ता सर्वत्र छ। बजारमा केहीले यो पटक पहिलेको सपोर्ट विन्दुभन्दा पनि तल आउनसक्ने अनुमान पनि गरेका थिए, तर बजारले यूटर्न लियो।  

विश्व सेयर बजार पनि कोरोनाको प्रकोप बढ्दै जाँदा केही घटेको थियो, तर पछि बिस्तारै बढेर उही पुरानो लय समाएका कारणले नेपालको सेयरबजार पनि त्यही दिशामा जानसक्ने प्रवल सम्भावना थियो र सुरुआत पनि त्यस्तै भएको छ।  

बजारमा घट्बढ हुनु सामान्य कुरा हो र भई नै राख्छ। रोग र समस्याले चारैतिर पिरोलेको अवस्थामा सेयर बजारले भने केही आशाको किरण जगाएको छ। बजार खुलेको दिन केही दवाब परे पनि दोस्रो र तेस्रो दिनमा एकाएक यूटर्न मार्दै बजारमा उछाल आयो भने अन्तिम करोबार नकारात्मक रह्यो, तर समग्रमा गत हप्ता बजार वृद्धि नै भयो।  

खासगरी चार कारोबारमध्ये बजारमा ठूलो उतारचढाव आउनुमा नियमन निकायले समातेको डोरीमा दोष देख्नेहरु पनि बजारमा छन्।  

बजारमा सेयरको मूल्य जहिले पनि माग र आपूर्तिले निर्धारण गर्छ। आपूर्ति घट्दा मूल्य बढ्छ भने आपूर्ति बढ्दा मूल्य बढ्न जान्छ। यो पटक नियमन निकाय खासगरी, यही नियममा यसरी खेल्यो कि सुरुको तीन दिनको करोबारमा धितो राखेको सेयर फुकुवा नभएसम्म बेच्न नमिल्ने। जसले गर्दा बजारमा आपूर्ति घटाइदियो। जहाँ लगानीकर्तामा सेयरको माग उच्च थियो। फलस्वरुप मूल्य अत्यधिक बढेर लामो समयपछि बजारमा सर्किटका सर्किट लाग्न पुग्यो र मध्य दिनमै करोबार बन्द भयो।  

धितो राखेको सेयर फुकुवा नभएसम्म बेच्न  नमिल्ने नियम ठीक थियो कि थिएन त्यो अलग कुरा थियो। फेरि अर्को नियम सिस्टममा देखियो, बेचेर फुकुवा गरे पनि हुने। जसले गर्दा बिहीबारको कारोबारमा अत्यधिक आपूर्ति बढेर फेरि नेगेटिभ  सर्किट लागेर बजार घट्ने अवस्था बजारमा आयो।  

यसै त लामो समय बन्द रहेको बजारमा यो पटक नियमन निकायले लगानीकर्तामाथि राम्रैसँग खेल्यो, जुन गलत हो। पहिला एउटा नियम आएपछि दोस्रोपटक फेरि अर्को नियम आएर लगानीकर्तालाई अल्मलाउनु ठूलो खेलाँची हो। जुन अब हुनुहुन्न।

अबको बाटो कता ?
लगानीकर्ताको मनोविज्ञान छिनछिनमा परिवर्तन हुने कुरा हो। प्राविधिक रुपले भन्नुपर्दा आरएसआई एकपटक अन्डर थर्टी आएर बजार माथि गएकोले बजार धेरै तल आउने देखिँदैन। लामो समयपछि खुलेको बजार भएकोले पनि उच्च भोलाटाइल भएको हो। 

आधारभूत तहबाट हेर्दा बजारमा पर्याप्त  तरलता छ। असार महिनाको क्लोजिङले केही दवाब भए पनि ठूलो दवाब हुने देखिँदैन। साउनबाट ब्याजदर घट्ने गरी  लगानीकर्ताअनुकूल मौद्रिक नीति आउने हुँदा आधारभूत विश्लेषणले पनि बजार बलियो देखिन्छ। 

अर्को पाटो राजनीतिलाई केलाएर हेर्ने हो भने बजारअनुकूल नभएको भनिएको अहिलेको सरकार कुनै दैवीशक्ति प्राप्ति नभए करिब–करिब संकटमा परेको देखिन्छ । कुनै हिसाबले सरकार रहे पनि अर्थमन्त्री रहने कुनै गुञ्जायस छैन। जसले गर्दा बजारबाट भागेका ठूला तथा मारवाडी समूह यही हप्ता बजार छिर्ने सम्भावना  पनि उत्तिकै छ। 

अन्य व्यापारव्यवसाय ठप्पै भएकोले पनि सामाजिक दूरी कायम गरी गर्न सकिने काम अहिले सेयर व्यापार नै हो। त्यसैले बजारमा ठूलो दवाब आउने देखिँदैन।  

हरेक वर्ष असारको यो समयमा गरेको लगानीबाट छिट्टै प्रतिफल पाइने हुँदा पनि यो बेलाको लगानी उत्तम मानिन्छ। खरिदबिक्री गर्ने हरेक लगानीकर्ताको आ–आफ्नो रणनीति हो।