काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि व्यापार–व्यवसायहरु बन्द हुँदा समस्यामा परेका भन्दै निजी क्षेत्रबाट विरोध र प्रदर्शन सुरु हुन थालेको छ। 

लकडाउन र निषेधाज्ञाबाट आजित बनेका व्यापारी तथा व्यवसायीहरुले व्यापारव्यवसाय चलाउन पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन्। यही क्रममा गत चैतदेखि ठप्प रहेका सैलुन तथा ब्युटिपार्लर व्यसायीहरुले माइतीघर मण्डलमा मंगलबार प्रदर्शन गरेका छन्। 

संयुक्त नाइ संघर्ष समितिको अगुवाइमा ललितपुरको पाटनदखि काठमाण्डौको माइतीघर मण्डलासम्म नाराजुलुसाका साथै प्रदर्शन भयो। प्रदर्शनमा सहभागीहरुले सैलुन र ब्युटिपार्लर खोल्न पाउनुपर्ने, लकडाउन र निषेधाज्ञा अवधिभरको राहात व्यवस्था गर्नुपर्ने, बैंक ब्याज मिनाह गर्नुपर्ने, पसल भाडा मिनाहा हुनुपर्ने, निःशुल्क पीपीई सेट दिनुपर्ने, नाई श्रमिकहरुको ५० लाख रुपैयाँबराबरको जीवन बीमा गरिदिनुपर्नेलगायतका माग अघि सारेका छन्। आफ्ना मागबारे सुनुवाइ नभएर कडा आन्दोलन गर्न बाध्य हुने संघर्ष समितिले चेतावनी दिएको छ। 

उता काठमाण्डौको कोटेश्वरमा पनि विभिन्न व्यवसायमा संलग्नहरुले आज विरोध प्रदर्शन गरेका छन्। हातहातमा प्लेकार्ड बोकेर उनीहरु व्यापार–व्यवसायी निर्वाध रुपमा चलाउन पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले कोरोनाभन्दा पनि भोकले मरिने स्थिति सिर्जना भएको गुनासो गरेका छन्। 

कोटेश्वर व्यवसायी संघको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले निषेधाज्ञा पूर्ण रुपमा हटाई व्यापारव्यवसाय खुलाउनुपर्ने, लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक ब्याज मिहाना हुनुपर्ने, कर जरिवाना मिनाहा हुनुपर्ने, घरभाडामा सहुलियत दिनुपर्ने लगायतका माग अघि सारेका छन्। 

व्यापार–व्यवसाय ठप्प भएको हुँदा भोकभोकै मर्नुपर्ने अवस्था आएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाइमा आन्दोलन भइरहेका छन्। महासंघले विभिन्न पार्टी र तिनका नेताहरुलाई भेटेर व्यापार–व्यवसाय सुचारु गराउने वातावरण सहज बनाइदिन आग्रह पनि गर्दै आएको छ।