काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तत्काल नखुल्ने प्रष्ट पारेका छन् । 

आज सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग पालैपालो भिडियो कन्फरेन्स गरेका ओलीले लकडाउन हतारामा खोलेर गल्ती नगरिने प्रष्ट पारेका उनको सचिवालयले जनाएको छ । 

उनले बिहान ११ बजेदेखि करिब ४ बजेसम्म मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । 

सो क्रममा ओलीले खुल्ला सीमाना रहेको भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका उल्लेख गर्दै नेपाल सरकारले मात्रै लकडाउन खोलेर जोखिम लिन नसकिने प्रष्ट बताएका थिए । ओलीको संकेत भारतले लकडाउन लम्ब्याउनका लागि आगामी दिनमा लिनसक्ने रणनीतिप्रति केन्द्रीत थियो । 

भारतले कम्तीमा २ हप्ताले लकडाउनको अवधि लम्ब्याउन खोजिरहेको छ । 

प्रधानमन्त्री ओलीले मूख्यमन्त्रीहरुलाई कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सकेसम्म कडाई गर्न, सीमा क्षेत्रमा थप कडाई गर्न समेत निर्देशन दिएका छन् । 

अमेरिका, इटाली, फ्रान्स, बेलायतजस्ता राष्ट्रहरूले कोरोना नियन्त्रण गर्न नसकिरहेका उल्लेख गर्दै ओलीले यसले मुख्यमन्त्री, मन्त्री कोही नचिन्ने बताए । 

उनले सो क्रममा जनताले धेरै दुःख नपाउन भन्ने विषयमा ध्यान दिनुपर्ने भए पनि भावनामा बहकिएर सीमा नाकामा खुकुलो पार्ने, मानिस जम्मा हुन दिने, लकडाउन खुकुलो पार्ने हेलचेक्र्याई क्षम्य नहुने प्रष्ट पारे । 

प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो-'लकडाउन भनेपछि लकडाउन । नो एक्सक्यूज, नो कम्प्रोमाइज ।'

उनले सबै मुख्यमन्त्रीहरुसँगको वार्तामा प्रमुख प्रतिपक्षी दल, पार्टीकै अर्का अध्यक्ष प्रचण्ड लगायतले उठाइरहेका सर्वदलीय संयन्त्र गठनको आवश्यकता समेत नरहेको प्रष्ट पारेका उनको निजी सचिवालयले जनाएको छ ।