काठमाण्डौ । सरकारले लक्षण नभएका संक्रमितलाई १० दिनमै डिस्चार्ज दिन अस्पतालहरुलाई निर्देशन दिएको छ । 

तर, यसका लागि अस्पताल बसेको १० औं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ । रिपोर्ट नेगेटिभ आए डिस्चार्ज दिन सकिनेछ । पोजिटिभ रिपोर्ट आए थप ४ दिन राखेर परीक्षण नगरी डिस्चार्ज दिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नेतृत्वमा आइतबार बसेको इन्सीडेन्ट कमाण्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

उनका अनुसार यो नियम उपत्यकाका लागि मात्र लागू हुनेछ । उपत्यकाका अस्पतालमा राखिएका लक्षण भएका संक्रमितलाई भने १४ दिनसम्म राखेर परीक्षण नगरी घर पठाउनसक्ने गरी निर्देशन दिइएको छ ।

बैठकले काठमाण्डौमा संक्रमणको अवस्था खराब बन्न थालेको निश्कर्ष निकाल्दै आवश्यक स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने गरी आवश्यक तयारी तथा व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने समेत निर्णय गरेको छ । 

यस्तै, कोभिड युनिट संचालन गरिरहेका निजी स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा र लिने शुल्कको समेत कडा अनुगमन गर्ने निर्णय भएको छ । यसका लागि मन्त्रालयको गुणस्तर, अनुगमन तथा नियमन महाशाखाले काम थाल्ने गौतमले जानकारी दिए । 

मन्त्रालयको बैठकले देशभरका अस्पतालहरुमा ६ हजार हाइडिपेनडेन्सी युनिटको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रति प्रदेश ५०० को दरले र काठमाण्डौ उपत्यकामा चाहिँ २५०० यस्ता युनिटको व्यवस्थापन गरिनेछ । यो कामको व्यवस्थापन नीति महाशाखाले गर्नेछ।