काठमाण्डौ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको टिकुलिगढ र नौ नम्बर तिलोत्तमा शाखाहरुमा आबद्ध ग्राहक सदस्यहरुलाई व्यावसायिक बंगुरपालन तालिम प्रदान गरेको छ। 

गत भदौ २७ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ४७ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो। 

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमका माध्यमबाट कृषकहरुलाई आधुनिक कृषितर्फ डोर्याउन थप मद्दत पुग्ने साथै कृषकहरुको कृषि कार्य पद्धतिमा परिवर्तन हुँदै जाने बताएका थिए। तालिमको सहजीकरण तिलोत्तमा नगरपालिकाअन्तर्गतका पशु प्राविधिकहरु राजु कुँवर, त्रिविक्रम न्यौपाने र महेश गौतमले गरेका थिए। 

लक्ष्मी लघुवित्तले कर्जा, बचतबाहेक लघुवीमा, विप्रेषण, ट्याबलेट बैंकिङ, ई–सेवा, कनेक्ट आईपीएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधासँगै महिलाहरुलाई उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।