काठमाण्डौ । सेयर बजारको उकालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ। लगातार ८ दिनदेखि बजार बढिरहेको छ। 

आज बजार ४.८९ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २०५०.५९ को वन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ अंकले बढेर ३९२.५ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार मुक्ति अर्याल लगानीकर्ताहरु मौद्रिक नीतिकै प्रतीक्षामा रहेको बताउँछन्। ‘मौद्रिक नीतिमा सकारात्मक आउने अपेक्षाका कारण बजार पनि लगातार पोजिटिभ भइरहेको छ’, उनले भने, ‘आजसहित बजार ८ दिनदेखि सकारात्मक बनिसकेको छ।’

अर्याल मौद्रिक नीति पुँजीबजारलाई कस्ने खालको आउने सम्भावना कम रहेको बताउँछन्। ‘आजबाट ट्रेडरहरु पनि बेच्नबाट पछि हटेको देखिन्छ’, उनले भने। 

सीडी रेसियो पनि तल रहेकोले बैंकहरु औद्योगिक क्षेत्रतिर कर्जा प्रवाह गर्न सक्ने देखिएको पनि अर्यालले बताए। 

सक्रिय लगानीकर्ता दमोदर गजुरेल मौद्रिक नीति केही लचिलो आउने हल्लाले बजार विस्तारै उकालो लागिरहेको बताउँछन्। ‘ठूला लगानीकर्ता र म्युचुअल फन्डहरुले अहिले धमाधम सेयर उठाइरहेको सुनिन्छ’, उनले भने। 

घटेर बेच्ने पछि हट्दा पछिल्लो समय बजारमा बिक्रीचाप घटेको गजुरेल बताउँछन्। ‘प्राविधिक रुपमा भन्नुपर्दा बजार अप ट्रेन्डमै रहेको छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.९१ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.२१ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, अन्य समूहमा १.१६ प्रतिशत, लघुवित्त समूहमा ०.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१२ प्रतिशत र लगानी समूहमा ०.७२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक ०.५९ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.५३ प्रतिशत घट्दा बैंकिङ समूहमा ०.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३५ प्रतिशत र जीवन बीमा समूहमा ०.२९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँमा कारोबार भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १६ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईसीएफसी फाइनान्सको ५ करोड ३१ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीका ५ करोड २ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ६१ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ करोड ४६ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड २३ लाख रुपैयाँ, अपी पावरको ३ करोड ९१ लाख रुपैयाँ र अप्पर तामाकोशीको ३ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ झन्डै ६ प्रतिशतले उकालो लागेको छ।

यो दिन इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।