काठमाण्डौ । लगातार घटिरहेको सेयर बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ।
आज बजार १४.४१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९५२.६६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले बढेर ३७०.२४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने सवा १ अर्ब रुपैयाँको हाराहारीमा मात्रै भएको छ।
बजार जानकार मुक्ति आर्याल धेरै दिनदेखि घटेका कारण बजारमा आज केही सुधार आएको बताउँछन्। ‘अहिले बजारले देशको राजनीतिक घटनाक्रम के हुने हो भनेर कुरिरहेको हुन सक्छ’, उनले भने।
राष्ट्रपतिको निर्वाचनपछि पनि सरकार कसको र कसरी बन्ने भन्ने अन्यौलता लगानीकर्तामा देखिन थालेको पछिल्लो राजनीतिक घटनाक्रमले पनि बताउने अर्यालको तर्क छ। ‘अहिलेको राजनीति परिस्थिति थप नबिग्रिएमा र अर्थतन्त्र बुझेको मान्छे अर्थमन्त्री भएर आएमा बजारमा केही सुधार आउन सक्ने आशा गर्न सकिन्छ’, उनले भने।
बजार जानकार केशव कोइराला (काका) पनि धेरै दिनदेखि लगातार घटेकोले आज बजार केही सम्हालिएको बताउँछन्। ‘२२०० भन्दा माथि बिक्री गरेर बसेका ठूला लगानीकर्ताहरु राजनीतिक अन्यौलताका कारण बजार नछिर्दा बजारमा गतिलो बाउन्स आउन नसकेको हो’, उनले भने।
राष्ट्रपतिको निर्वाचनपछि तरल राजनीतिक अवस्थामा सुधार आउने, सरकारले पनि पूर्णता पाउने र ब्याजदर पनि घट्दै जाने भएकोले बजार लयमा फर्किन सक्ने कोइरालाको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक १.६७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.१८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५१ प्रतिशत, विकास बैंक समूहमा १.१६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०५ प्रतिशत, लगानी समूहमा १.११ प्रतिशत, जीवन बीमा समूहमा ०.४६ प्रतिशत, लघुवित्त समूहमा ०.५० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९७ प्रतिशत, अन्य समूहमा ०.७१ प्रतिशत र व्यापार समूहमा ०.७५ प्रतिशतको बढोत्तरी भएको छ।
आज उत्पादन तथा प्रशोधन समूह १.०६ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४ लाख ९ हजार ४१२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन साल्ट ट्रेडिङको सर्वाधिक १२ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ९ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज छिमेक लघुवित्तको ५ करोड ४५ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ११ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड २ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ६३ लाख रुपैयाँ, अपर तामाकोशीको २ करोड ४० लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको २ करोड १० लाख रुपैयाँ, अपी पावरको १ करोड ९९ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको १ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। शुभम पावरको सेयरभाउमा १० प्रतिशत तथा सुपर मादी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।
यो दिन सिवाईसी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19