काठमाण्डौ । लगातार ४ कारोबारमा ओरालो लागेको सेयर बजारमा बुधबार दोहोरो अंकको बढोत्तरी भएको छ। 

बजार आज १५.१३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२०.१२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेर ३६५.९० को विन्दुमा पुगेको छ। कारोबार रकम भने ८७ करोड रुपैयाँको मात्रै भएको छ। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला धेरै दिन बजार घटेकोले आज बढेको हुन सक्ने बताउँछन्। ‘तेस्रो त्रैमासको रिपोर्ट सर्वाजनिक भइरहँदा आजको बजार बढाइले सकारात्मक संकेत पनि देखाएको छ’, उनले भने, ‘केही न केही सकारात्मक खबर आउन सक्छ।’

‘प्राविधिक रुपमा पनि बजारमा खरिद सिग्नल देखिएको थियो’, बास्तोलाले भने। 

बजार जानकार प्रकाश रजौरे आजको बढाइले लगानीकर्तामा अब बजार अझै घट्छ भन्ने त्रास हटेको संकेत गरेको बताउँछन्। ‘आजबाट बजारमा बटम लागेको छ’, उनले भने, ‘लगानीकर्तामा अब बजारमा माथि नै जान्छ भन्ने कन्फिडेन्स बढेको देखिन्छ।’

अर्थमन्त्री पनि पुँजीबजारप्रति सकारात्मक नै रहेको उल्लेख गर्दै रजौरे कर्जामा जोखिम भार हटाउने तयारी भइरहेको बताउँछन्। ‘बैंकको एनपीएल पनि धेरै नबढ्ने देखिन्छ’, उनले भने, ‘तेस्रो त्रैमासको रिपोर्ट पनि राम्रै आउँछ भन्ने लगानीकर्तामा विश्वास छ।’

ब्याजदर पनि घट्दो क्रममा रहेको अब बजार लयमा फर्किन सक्ने रजौरेको भनाइ छ।

आज नेप्सेमा उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक १.२७ प्रतिशतले उकालो लागेको छ। वित्त र व्यापार समूह समान १.१३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५४ प्रतिशत, जलविद्युत समूहमा ०.८९ प्रतिशत, लगानी समूहमा ०.९९ प्रतिशत, जीवन बीमा समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३५ प्रतिशत, लघुवित्त समूहमा ०.९४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८३ प्रतिशत र अन्य समूहमा ०.४६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज म्युचुअल फन्ड समूहमा ०.४७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन स्वावलम्बन लघुवित्तको संस्थापक सेयरको सर्वाधिक ८ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३ करोड १८ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड १७ लाख रुपैयाँ, निफ्राको २ करोड ३९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका २ करोड ३ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको १ करोड ६७ लाख रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ करोड ६४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६२ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। कालिञ्चोक दर्शन, मोलुङ हाइड्रोपावर र गुराँस लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन आदर्श लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका नेगेटिभ सर्किट लागेको छ।