काठमाण्डौ । सेयर बजार मंगलबार पनि उकालो लागेको छ। योसँगै लगातार ३ दिन बजार उकालो लागेको छ।

आज बजार ९.९१ अंकले बढेको हो। योसँगै २१५४.०७ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेर ४०७.१३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार अजयसिंह थापा (जय शम्भु) आज बजार बढे पनि सामान्य करेक्सन भएको बताउँछन्। यो स्वाभाविक नै रहेको उनको भनाइ छ।

प्राविधिक रुपमा भोलि करेक्सन आएमा बजार २१३५ सम्म आउन सक्ने थापा बताउँछन्। ‘तर बजार बुलिस नै हो’, उनले भने। 

आज भोलुम बढ्नुलाई सकारात्मक रुपमा नै लिनुपर्ने थापाले बताए। ‘२२०० माथि टिक्छ भने बजारले अप ट्रेन्ड लिनेछ’, उनले भने। 

अर्का बजार जानकार उपेन्द्र पाठक आज बजारमा वाणिज्य बैंक पनि चलेको बताउँछन्। ‘यसले राष्ट्र बैंकको पोलिसीमा केही परिवर्तन हुने आश गर्न सकिन्छ’, उनले भने, ‘मौद्रिक नीतिमा जोखिम भार घट्न सक्ने अनुमान गर्न सकिन्छ।’

असार मसान्तको प्रभाव सकिएसँगै ब्रोकरले पनि लिमिट थप्न थालेको पाठकको भनाइ छ। ‘बजारमा ५ खर्ब रुपैयाँको हाराहारीमा पैसा रहेको छ, त्यो पैसा सेयर बजारमै आउने हो’, उनले भने, ‘त्यसैले बजार विस्तारै माथि नै जान्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.५५ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशतले बढ्दा बैंकि समूहमा १.०८ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.१५ प्रतिशत, लघुवित्त समूहमा ०.४३ प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.४५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.८८ प्रतिशतले घट्दा वित्त समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र व्यापार समूहमा ०.३५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन स्वावलम्बन लघुवित्तको सर्वाधिक २१ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ करोड ६६ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १० करोड २३ लाख रुपैयाँ, सोल्टी होटेलको ८ करोड ३३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ९१ लाख रुपैयाँ, आइजीआई इन्स्योरेन्सको ६ करोड ८२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ७९ लाख रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ६ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको थियो। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। बिपिडब्लु लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा युनाइटेड अजोड इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। शुभम पावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा बढेको छ। 

यो दिन हिमालयन ऊर्जाका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउमा ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।