काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कारोबार आएको लगातार दोस्रो दिन मंगलबार पनि नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा पहिरो गएको छ। 

मंगलबार कम्पनीको सेयरमूल्यमा कारोबार सुरु भएको १० मिनेटभित्रै १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। 

यो कम्पनीको सेयर कारोबार हिजो सोमबारदेखि मात्रै सुरु भएको थियो। पहिलो दिन पनि कारोबार सुरु भएको ४० मिनेटमै यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा गिरावट आउँदै प्रतिकित्ता ४२ रुपैयाँ घटेर नेगेटिभ सर्किट लागेको थियो।

यो समाचार तयार पार्दासम्म यो कम्पनीको सेयरमूल्यमा ९.९४ प्रतिशतको गिरावट आउँदै प्रतिकित्ता ३८ रुपैयाँ घटेको छ। यो गिरावटसँगै अहिले कम्पनीको सेयर प्रतिकित्ता ३४४ रुपैयाँमा कारोबार भइरहेको छ। 

यो कम्पनीको सेयर पहिलो दिन नै प्रतिकित्ता ४२४ रुपैयाँमा कारोबार खुलेको थियो। 

मार्केट डेप्थमा यो कम्पनीको सेयरमा बिक्रीचाप बढी देखिएको छ। त्यहाँ ५० हजार ४३० कित्ता बिक्रीमा राखिएको देखिएको छ। खरिदतर्फबाट भने एउटा पनि कित्ता परेको छैन।