काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको करिब एक महिनापछि ‘विविध कारण’ देखाउँदै सो सम्बन्धी निर्णय खारेज गरेको स्वदेशी लघुवित्त बित्तीय संस्था लिमीटेडको कारोबार निलम्बनमा परेको छ ।

यो कम्पनीले पूँजीकोष अनुपातको हिसाब निकाल्न नजान्दा १० प्रतिशत नगद लाभांश घोषणा गरी लगानीकर्तालाई झुक्याएर त्यसको करिब एक महिनापछि आइतबार सो निर्णय खारेज गर्नुपरेको सूचना सार्वजनिक गरिएको थियो । 

यो कम्पनीले असोज १८ गते बिहीबार नगद लाभांश खारेजी सम्बन्धी निर्णय गरेको थियो । तर, सो निर्णयको बिषयमा नेप्सेलाई असोज २१ आइतबार मात्र जानकारी दिइएको थियो । 

संवेदनशील सूचना सम्बन्धी निर्णयको जानकारी किन ढिलो गरी आयो र नगद लाभांश सम्बन्धी निर्णय खारेजीका लागि कम्पनीले भनेको विविध कारण भनेको के हो भन्दै नेप्सेले २४ घण्टाभित्र स्पष्टीकरण पठाउन पत्र लेखेको हो । 

प्रष्ट कारणबिना नै घोषित लाभांश सम्बन्धी निर्णय खारेजीको सूचना कम्पनीको संचालक समितिले निर्णय गरेक छानबिनबिना नै आफ्नो वेबसाइटमा पोस्ट गर्ने नेपाल स्टक एक्सचेञ्जले कम्पनीलाई स्पष्टीकरण सोध्दै कारोबार निलम्बन गरिदिएको हो । 

स्वदेशी लघुवित्तले पूँजीकोष अनुपात निकाल्न नजान्दा लगानीकर्तालाई करोडौं घाटा भएको बिषयमा बिजशालाले समाचार प्रकाशन गरेको थियो ।

समाचार आउनुअघि स्वदेशीको लाभांश रद्ध सम्बन्धी सूचना सम्प्रेषण गरिदिने नेप्सेले समाचार आएपछि भने कारोबार निलम्बनमा राख्दै स्पष्टीकरण सोधेको देखिएको छ । 

के भएको थियो ?
यो कम्पनीका संचालक तथा व्यवस्थापनको लापरबाहीका कारण सयौं लगानीकर्ता झुक्किएका छन् । 

कम्पनीले नेपाल राष्ट्रबैंकको नियमलाई जबरजस्ती मिच्ने प्रयास गर्दा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट घोषणा गरेको १० प्रतिशत नगद लाभांश र त्यसलाई आवश्यक करबापतको रकमको निर्णय नै खारेज गर्नुपर्यो । 

यो कम्पनीले आफ्नो पूँजीकोष बलियो नहुँदा नहुँदै बोनस सेयर छाडेर नगद लाभांशमा जोड दिएको थियो । कम्पनीले लापरबाहीपूर्ण तरिकाले हिसाब गरी पूँजीकोष अनुपात ९ प्रतिशतभन्दा माथि रहेको दाबीसहित नगद लाभांश मात्र दिने निर्णय गरी राष्ट्रबैंकमा पठाएको थियो । तर, केन्द्रीय बैंकले हिसाब गर्दा कम्पनीको पूँजीकोष अनुपात ९ प्रतिशत पनि नपुग्ने देखिएपछि नगद लाभांश वितरणमा रोक लागेको हो । 

स्रोतका अनुसार राष्ट्रबैंकले पूँजीकोष अनुपात ९ प्रतिशत भन्दा कम भएकोले कम्पनीले नगद लाभांश वितरण गर्न नसक्ने भन्दै रोकिदिएपछि स्वदेशी लघुवित्तको संचालक समितिको ६३ औं बैठकले पूर्वघोषित नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव प्राविधिक कारणले खारेज गरिएको जनाएको हो । 

नगद लाभांश वितरण गर्न नसके पनि यही अवस्थामा स्वदेशीले बोनस सेयर भने वितरण गर्न सक्थ्यो । तर, केही संचालकहरुको नगदमोहका कारण लगानीकर्ताले दुवै संभावना यो वर्षका लागि गुमाउनु परेको छ । 

कम्पनीले बुद्धिमतापूर्वक हिसाब गर्न सकेको भए यो वर्ष स्वदेशीका लगानीकर्ताले खालि हात बस्नुपर्ने थिएन, तर लापरबाहीपूूर्ण तरिकाले नगद लाभांशको प्रस्ताव गर्दा त्यो समेत स्वीकृत भएन र लगानीकर्ताले पाउनसक्ने बोनस सेयर समेत पाउने अवस्था रहेन । 

करिब एक महिनाअघि अर्थात भदौ २६ गते यो कम्पनीले संचालक समितिको ६२ औं बैठकको हवाला दिंदै आर्थिक वर्ष २०७४ ७५ को खुद मुनाफाबाट १ बराबर १ को अनुपातमा जारी गरिएको हकप्रदपछि कायम चुक्तापूँजीको १० प्रतिशतको दरले नगद लाभांश वितरणको निर्णय भएको सार्वजनिक गरेको थियो । 

यो कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई असोज १८ गते लेखेको पत्र आइतबार सार्वजनिक  गरिएको थियो भने नेप्सेले सोमबारदेखि कारोबार निलम्बनमा राखेको हो । 

जहाँ विविध प्राविधिक कारणले २ करोड ३० लाख रुपैयाँ बराबरले हुन आउने १० प्रतिशत नगद लाभांश र त्यसमा लाग्ने कर १२ लाख १० हजार ५ सय २६ रुपैयाँ वितरणको निर्णय खारेज गरिएको बताइएको हो । 

कम्पनीको संचालक समितिको ६३ औं बैठकले ६२ औं बैठकबाट प्रस्तावित लाभांश वितरणको निर्णय खारेज गरेको देखिएको छ । 

बैंठकले यो वर्ष कुनै लाभांश वितरण नगर्ने र पूर्व प्रस्तावित रकम सञ्चित नाफामा नै राख्ने निर्णय गरेको छ ।