– भक्तराज रसाइली

काठमाण्डौ । अब लगानीकर्ताले आफैँ ब्रोकर परिवर्तन गर्न पाउने भएका छन्।

यसअघि सेयर कारोबार गर्न ब्रोकर परिवर्तन गर्नुपरेको खण्डमा नेप्सेमा इमेल पठाइने व्यवस्था रहेकोमा अब लगानीकर्ता स्वयंले टीएमएस (ट्रेडिङ मेनेजमेन्ट सिस्टम) मार्फत ब्रोकर परिवर्तन गर्न सक्ने प्रणालीको विकास भएको छ। अर्थात् लगानीकर्ताले ब्रोकरबाट लिएको अनलाइन युजर आईडीबाट टीएमएसमा गई आफैँले ब्रोकर छनोट गरी जुनुसुकै ब्रोकर चुन्न सक्ने व्यवस्था सुरु भएको हो। यसको मतलब अबोप्रान्त लगानीकर्ताले नेप्सेमा इमेल पठाई राख्न आवश्यक छैन।

एक डिम्याट एक ब्रोकरको नीति लागू भएपछि जुनसुकै ब्रोकरबाट सेयर किन्न सकिने तर बेच्न भने एक ब्रोकरबाट मात्र पाइने व्यवस्था रहेकोमा अब लगानीकर्ताले टीएमएसमा रहेको डीपी होल्डिङ (भ्यू म्यापिङ) बक्समा क्लिक गरेपश्चात् बीओ आइडी मेम्बर म्यापिङ बक्स देखा पर्नेछ। सोही बीओ आईडी मेम्बर म्यापिङमा सेलेक्ट मेम्बर फर रेक्वेस्टमा जानुपर्छ र एक्सन अप्सनमा ब्रोकर छनोट गर्न सकिनेछ। त्यहाँ क्लिक गरेपछि ब्रोकरको सूची आउनेछ तर सोही सूची लगानीकर्ताले यसअघि नै आफूले कारोबार गर्न चाहेको ब्रोकर कम्पनीमा पनि केवाईसी (कारोबार खाता) वा अनलाइन फर्म रजिस्ट्रेसनमार्फत केवाईसी भरेको हुनुपर्दछ। सो ब्रोकरको सूचीमा बीओआईडी म्यापिङ गर्नुपर्ने हुन्छ। 

अर्थात मानौँ ब्रोकर नम्बर १ बाट ब्रोकर नम्बर २ जानुपर्ने भएमा ब्रोकर नम्बर १ लाई निष्क्रिय गर्ने अप्सन हुनेछ। तपाइँले ब्रोकर नै १ लाई डिएक्टिभ वा निष्क्रिय गरेपछि त्यसको नोटिफिकेसन ब्रोकर नम्बर १ लाई जान्छ। अनि ब्रोकर नम्बर १ ले निष्क्रिय गरेपश्चात ब्रोकर नम्बर २ बाट कारोबार गर्न सकिन्छ। 

लगानीकर्ताले पुरानो ब्रोकरलाई निष्क्रिय पार्न गरेको अनुरोध अटोमेटिक हुनेछ । पुरानो ब्रोकरलाई समेत लगानीकर्ताले ब्रोकर परिवर्तन गरेको नोटिफिकेसन जानेछ भने यदि पुरानो ब्रोकरले परिवर्तन गर्न नचाहेमा पनि स्वतः २४ घण्टाभित्रै अर्को ब्रोकरकहाँ बीओआइडी म्यापिङ भई सेयर किनबेच गर्न मिल्छ ।