काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा झिनो अंकको बढोत्तरीका साथ बजार बन्द भएको छ। आज पनि कारोबार रकम ३ अर्ब रुपैयाँ नाघेको छ।

आज नेप्से परिसूचक ३.२६ अंकको बढोत्तरीका साथ १५४०.५१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.२८ अंकको वृद्धिसँगै ३०६.२४ को उचाइमा पुगेको छ। 

आज परिसूचकमा समेत निकै उत्तारचढाव देखियो। केही दिनदेखि बीमा समूहमा आएको उछालमा प्रफिट बुक गरेका लगानीकर्ताहरु आज भने हाइड्रोतर्फ आकर्षित भए। 

कोरोना र निषेधाज्ञाले चौपट हुँदै गइरहेको व्यापार–व्यवसायले बैंक तथा वित्तीय संस्थाको प्रतिफल कम हुने आँकलन लगानीकर्ताहरुमा रहेको विश्लेषकहरु बताउँछन्। त्यसैको प्रभावले नियमित निश्चित प्रतिफल दिन सक्ने तथा घट्दो ब्याजदरका कारणसमेत हाइड्रो समूहमा लगानीकर्ताहरुले लगानी बढाइरहेका उनीहरुको भनाइ छ।

यसैगरी निकै हङ्ग्री इन्भेस्टर बढेकै कारणसमेत आज सोमबार नेप्सेमा दोस्रो सर्वाधिक कारोबार संख्याको रेकर्ड कायम भएको छ। आज नेप्सेमा ४४ हजार २४४ पटक सेयर कारोबार भएको छ। यसअघि औसत दैनिक ३० हजार हाराहारी कारोबार संख्या रहने गरेकोमा हिजोआज कारोबार संख्यासमेत ४० हजार पटकभन्दा बढी हुन थालेको छ। 

यसअघि नेप्सेमा ४५ हजार ७२० कारोबार संख्याको रेकर्ड कायम छ। कारोबार संख्यामा उछाल आउनुको कारणमा नेप्सेको अनलाइन कारोबार प्रणालीसमेत एक हो। 

हिजोआज कोरोनाबाट उत्पन्न परिस्थितिका कारण अनलाइन कारोबारीको संख्या बढेसँगै कारोबार संख्या र रकममा समेत उछाल आइरहेको छ। जुन आगामी दिन अझै बढ्ने विश्लेषकहरुको दाबी छ।

नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ८५ कम्पनीका सेयरमूल्य उकालो लाग्यो भने ७४ कम्पनीका सेयरमूल्यम गिरावट आयो। १० कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

यो दिन विकास बैंक समूहमा सबैभन्दा धेरै २०.९८ अंकको बढोत्तरी भएको छ। बैंकिङ समूहमा १४.६८ अंकको वृद्धि भएको आज जलविद्युत् समूहमा १२.२ अंक, वित्त समूहमा ६.९४ अंक र म्युचुअल फन्ड समूहमा ०.०४ अंकको बढोत्तरी भएको छ।

आज निर्जीवन बीमा समूहमा रहेको धेरै २५४.५९ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा ७९.३२ अंकको गिरावट आएको यो दिन व्यापार मूहमा १.०६ अंक, होटेल्स् समूहमा १७.४५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३८.०५ अंक, अन्य समूहमा ०.२७ अंक र लघुवित्त समूहमा २३.२ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ८६ लाख ३१ हजार ७४१ कित्ता सेयर ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९०८ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन पुनर्बीमा कम्पनी एक्लैको १९ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ। 

नेपाल बैंकले १२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको आज नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड १९ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ११ करोड १४ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ८ करोड १ लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ७२ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ६ करोड ७१ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ६ करोड ६९ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ६ करोड ४५ लाख रुपैयाँ र शिखर इन्स्योेरेन्सको ६ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत र  एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत, रिडी हाइड्रोपावर तथा छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन बरुण हाइड्रोपावर, सिनर्जी पावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो। 

आज राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयरमा ८ प्रतिशत बढीको गिरावट आएको छ।